अपाङ्गतामैत्री छैनन् सडक

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चिल्ला सडक बनिरहेका छन् । पुराना सडक धमाधम स्तरोन्नति र कालोपत्रे भइरहेको छ । तर यसरी बनाइएका सडक अपाङ्गमैत्री छैनन् । जसले गर्दा अपाङ्गता भएका नागरिकलाई हिँड्डूल गर्न निकै सास्ती हुने गरेको छ ।

ट्राफिक व्यवस्थापन र फुटपाथ गतिला नभएकै कारण उनीहरूलाई सास्ती हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की तुल्सी ढकाल दृष्टिविहीन हुन् । शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्ष अध्यनरत उनलाई दैनिक रूपमा सास्ती हुने गरेको छ । उनले घरमा होस् या बाटो र क्याम्पसमा समेत अपाङ्गमैत्री संरचना नहुँदा दैनिक विभिन्न समस्या झेल्दै आएकी छन् । बजार निस्कदा होस् या क्याम्पस आउँदा सेतो छडीको सहारा चाहिन्छ । सडक संरचनाका कारण उनी दिनहुँजसो ठोक्किने वा लड्ने गर्छिन् । उनले भनिन्, ‘सडक अपाङ्गमैत्री छैनन्, फुटपाथ गतिला छैनन्, सडक साँघुरा छन् । खाल्डाखुल्डीले सास्ती हुने गरेको छ ।’

घर, सडक र सरकारी कार्यालयहरूमा सास्ती भोग्दै आएको उनले सुनाइन् । ‘नलडेको त दिन नै हुँदैन,’ ढकालले भनिन्, ‘अपाङ्गमैत्री संरचना नहुँदा सेतो छडीको सहारामा कसरी सिँढी चढ्ने, कहाँबाट सडक क्रस गर्ने जस्ता कुराले अन्यौलता छाउने गरेको छ ।’ पछिल्लो समय बनेका चाँैडा सडकले झनै सास्ती भइरहेको उनले सुनाइन् । वीरेन्द्रनगरका सडकहरू अपाङ्गमैत्री नहुँदा यहाँ ओहोरदोहोर गर्ने अपाङ्गता भएका व्यक्तिलाई निकै कठिनाइ हुनेगरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ की गिता सार्की बहुअपाङ्गता हुन् । उनलाई सहाराविना हिँड्डूल गर्न सम्भव छैन । कामका लागि सरकारी कार्यालय जाँदा निकै कष्ट हुने गरेको छ । तुल्सी ढकाल र गिता सार्की प्रतिनिधि पात्र मात्र हुन् । अपाङ्गता भएका व्यक्तिलाई चिल्ला सडक झनै समस्या बनिरहेका छन् ।

 

अव्यवस्थित सडक

नयाँ बनिरहेका सडक सहरी मापदण्ड अनुरूप छैनन् । दिनहुँ जसो दुर्घना हुनेगरेका छन् । वीरेन्द्रनगरका अधिकांश सडकमा फुटपाथ छैनन् । भएका पनि साँघुरा छन् । कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा उस्तै सवारी चाप, त्यही सडकमै हिँड्नुपर्ने बाध्यता पैदलयात्रीको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ की सविना कार्की बिहानीपख शारीरिक व्यायामका लागि निस्किन्छिन् । फुटपाथको व्यवस्था नहुँदा उनी सडकमै दौडिन्छिन् । जसले असुरक्षित महशुस हुने गरेको उनले बताइन् ।

यहाँका धेरै स्थानमा फुटपाथका समस्या छन् । कहीँ साँघरो फुटपाथ त कहीँ फुटपाथ नै छैन । यस्तो अवस्थामा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । सडकमा हिँड्दा सवारी साधनले हान्दिने हो कि भन्ने त्रास पनि हुन्छ । ‘छेउबाट सवारी साधन हुँइकिएर आउँछन्, बाटो हिँड्दा डराउनुपर्ने अवस्था छ,’ वीरेन्द्रनगर–३ की गंगा भट्टराईले भनिन् ।

सामान्यतया फुटपाथ एक दशमलव आठ मिटरको हुनुपर्ने मापदण्ड छ । बनेका फुटपाथ हेर्ने हो भने मापदण्ड अनुसार बन्न सकेका छैनन् । फुटपाथ मापदण्ड अनुसार बन्न नसक्नुमा ठाउँकै अभाव रहेको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर हरि केसीले बताए । उनका अनुसार ठाउँ अभाव तथा जग्गाको कमीका कारण पछिल्ला समय मापदण्ड अनुसार फुटपाथ बन्न सकेका छैनन् । ‘फुटपाथविनाको सडक बनाउने नीति होइन, फुटपाथ राखेरै बनाउनुपर्छ अझ सहरी क्षेत्रमा यो आवश्यक पर्छ नै । तर पनि जग्गा अभावको कारण बाटो साँघुरो हुँदा राख्न नमिलेको अवस्था छ । सकेसम्म ठाउँ पाएसम्म फुटपाथ राख्ने गरेका छौँ,’ केसीले भने ।

उनका अनुसार राज्यले विगतमा फुटपाथलाई प्राथमिकतामा राखेको थिएन । जसकारण फुटपाथ सडकमात्र विस्तार गरिए । सिंगल लेनमा नै पुल निर्माण भए । अहिले सवारी चाप बढेसँगै थप समस्या सिर्जना भएको हो । वर्तमान बाध्यतालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले जहाँ–जहाँ अनिवार्य छ त्यहाँ फुटपाथ बनाउने नीति ल्याएको उनले जनाए । फुटपाथसँगै वीरेन्द्रनगरका सडकमा रेलिङको पनि अभाव रहेको उनले बताए ।

 

कर्णालीमा ५२ हजार अपाङ्गता भएका व्यक्ति

कर्णाली प्रदेशको कुल जनसंख्याको तीन दशमलव ११ प्रतिशत अर्थात् ५२ हजार ६ सय चार जना अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति छन् । प्रदेशभर २३ हजार नौ सय एक जना शारिरिक अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।

यसैगरी प्रदेशमा दृष्टीविहीन र न्यून दृष्टीविहीनसम्बन्धी अपाङ्गता भएका व्यक्ति नौ हजार सात सय ३९ जना छन् । बहिरा र सुस्त श्रवण गरी आठ हजार आठ सय ३३ जना, श्रवण दृष्टीविहीन आठ सय २२ जना, स्वर बोलाइसम्बन्धी तीन हजार दुई सय १५, बौद्धिक अपाङ्गता पाँच सय ३०, हेमोफिलिया एक सय ७४, अटिजम तीन सय नौ, बहुअपाङ्गता तीन हजार ६ सय २३ जना रहेका छन् । यस्तै, दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार चार सय ५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन् । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू सामाजिक विभेद र अवरोधका कारण अझै खुल्न सकेका छैनन् ।

 

अपाङ्गतामैत्री संरचना निर्माण गर्न सुझाव

सरोकारवालाले अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । अब बन्ने संरचना अपाङ्गमैत्री बनाउन सुझाव दिएका हुन् । प्रदेश र स्थानीय सरकारलाई अपाङ्गतामैत्री संरचना निर्माण गर्न माग गरिएको अपाङ्गताको क्षेत्रमा काम गर्दैआएका झक्कप्रसाद पोखरेलले बताए । उनका अनुसार वीरेन्द्रनगरका सडक अपाङ्गमैत्री नहुँदा धेरै समस्या हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारलाई विभिन्न समयमा ध्यानाकर्षण गर्ने गरिएको उनले जनाए ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८१, मंगलवार ११:३६