वैदेशिक रोजगारीको जोखिम
वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहाली लाग्दो रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन–२०२४’ सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले वैदेशिक रोजगारीमा कहालीलाग्दो स्थिति रहेको स्पष्ट देखाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने जिम्मेवारी पाएका सरोकारवालाले यो विषयमा चासो दिएको पाइँदैन । सन् २०२२ देखि २०२४ सम्मको प्रतिवेदन तयार गरिएको हो । वैदेशिक रोजगारीका क्रममा धेरै नेपालीको अकालमा ज्यान जाने गरेको छ । दुई वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी नेपाली श्रमिकको मृत्यु भएको छ । सरदर हरेक दिन तीन जना श्रमिकले ज्यान गुमाउने गरेका छन् । सन् २०२२ देखि २०२४ सम्म मलेसियामा मात्रै एक सय एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अंगभंग तथा बिरामी परेको अवस्था छ । श्रम ठगीसम्बन्धी मुद्दा पनि उल्लेखनीय रूपमा दर्ता भएका पाइएको छ । देशभर १४ हजार तीन सय ५० ठगीका मुद्दा दर्ता भएका छन् । जसमा कर्णाली प्रदेशबाट मात्रै एक सय वटा मुद्दा दर्ता भएका छन् । जसअन्र्तगत ९५ पुरुष रहेका छन् भने पाँच जना महिला रहेका छन् । यसैबीच प्रतिवेदन अनुसार दुई वर्षको अवधिमा कर्णालीबाट ४२ हजार सात सय ३६ जनाले श्रम स्वीकृति लिएका छन् । कर्णाली प्रदेशबाट दुई वर्षमा २४ हजार नौ सय ७४ पुरुष र १८ हजार ६ सय ६२ महिलाले श्रम स्वीकृति लिएको पाइएको छ । भारत जाने श्रमिकलाई श्रम स्वीकृति लिन नपर्ने भएकाले कर्णालीबाट काम गर्न बाहिर जाने श्रमिकको संख्यामा कम देखिएको बताइएको छ । यो अवधिमा १५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
सन् २००८ देखि २०२४ सम्म ५६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको पाइएको छ । पछिल्ला दुई वर्षमा महिला श्रमिकको संख्यामा १२ दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । प्रदेशगत श्रम आप्रवासन हेर्दा सबैभन्दा धेरै श्रमिक कोशी प्रदेशबाट विदेश गएका छन् भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशबाट गएका छन् । नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी मलेसिया जाने गरेका छन् भने त्यसपछि साउदी अरेबिया, कतार, कुवेत, बहराइन प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । पछिल्लो समय रोमानिया, क्रोएशिया, पोल्याण्ड, साइप्रस, टर्की, अल्बानिया लगायतका मुलुकहरू नयाँ श्रम गन्तव्य बनेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ४८ दशमलव चार प्रतिशत श्रमिक अवर्गीकृत मजदुर रहेको पाइएको छ ।
प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार ०६:०३
सम्पादकीय ।