एमयूको तेस्रो दीक्षान्त

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) को तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा शुक्रवार वीरेन्द्रनगरमा तेस्रो दीक्षान्त गरिएको हो । जसमा तीन हजार बढी विद्यार्थी दीक्षित भएका छन् ।

विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवम् संघसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताए ।

विश्वविद्यालयअन्तर्गत सात वटा केन्द्रीय विभाग, १० वटा आङ्गिक कार्यक्रम र १ वटा विशेष कार्यक्रम सञ्चालनमा छन् । झन्डै १२ हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले नौ वटा विषयमा स्नातक र १३ वटा विषयमा स्नातकोत्तर अध्यापन गराउँदै आएको छ । तर विश्वविद्यालयले कार्यक्रमको व्यवस्थापन नगर्दा लामो अवधिमा दीक्षान्त समारोह हुने गरेको हो ।

विश्वविद्यालयको दोस्रो दीक्षान्त २०७९ वैशाख ६ गते तत्कालीन सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो । त्यसको तीन वर्षपछि तेस्रो दीक्षान्त गरिएको हो । संघीय संसद्बाट २०६७ असार ३ गते मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ जारी भएर सञ्चालनमा आएको विश्वविद्यालयले २०६९ देखि शैक्षिक कार्यक्रम सुरु गरेको थियो ।

 

प्रकाशित मितिः   २४ फाल्गुन २०८१, शनिबार १०:३७