प्रदेशसभामा प्रधानमन्त्री ओली: ‘कर्णाली समृद्ध बनाउन सकिन्छ’

संघीयताको मर्म अनुरूप काम हुन नसकेको गुनासो

सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको मर्म अनुरूप काम हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशमा सभामुख, मुख्यमन्त्री र मन्त्री बनाउन मात्रै संघीयता नल्याइएको बताए ।

संघीयता ल्याउनु भनेको भ्रष्टाचार अन्त्य गर्नु र पूर्वाधार विकासमा जोड दिनु भएको भन्दै त्यसो हुन नसकेको उनको भनाइ थियो । उनले संघीयता आइसकेपछि विकास निर्माणका काम भइरहेको बताउँदै विद्युतको विकास, सञ्चारको विकास, पूर्वाधारका अन्य पक्षको विकास गर्न आवश्यक रहेको उल्लेख गरे । भेरी बबई डाइभर्सनजस्ता महŒवपूर्ण आयोजना राम्ररी अघि बढ्न नसकेको पनि बताए । अब छिटो अघि बढाउन लाग्ने ओलीको प्रतिवद्धता थियो । ‘तीन तहका सरकार मिलेर अघि बढ्नुको विकल्प छैन, अब पूर्वाधार निर्माणमा जोड दिनुपर्छ, संघ सरकारले सहयोग गर्छ’ प्रधानमन्त्री ओलीले भने ।

कर्णालीमा ऊर्जा, पशुपालन, खेतिपातिदेखि थुप्रै कुराको सम्भावना रहेको उनले बताए । कर्णालीको जल खेर गइरहेको बताउँदै प्रधानमन्त्री ओलीले कति नसकेर, कति नजानेर खेर गइरहेको जनाए । कर्णालीमा जलविद्युत आयोजनाको पर्चुर सम्भावना रहेको उल्लेख गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले कर्णाली खनिजले भरिएको प्रदेश रहेको उल्लेख गरे । ‘दैलेखमा तेल उत्खनन् गर्दैछौँ । यहीँ काइनेटिक छन्, यार्सा छ । धार्मिक पर्यटनका अवसर छन् । प्रकृतिले साथ दिएको छ’, प्रधानमन्त्री ओलीले भने ।

राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अस्पताल खोल्न लागिएको बताउँदै भेरी करिडोर, कर्णाली करिडोरलाई विशेष प्राथमिकता दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । हरेक जिल्ला सदरमुकामसम्म सडक पुगेको र अब ती सडकहरू कालोपत्रे गर्ने उनले सुनाए । प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न यो सरकार बनेको बताए । संघीयता बलियो बनाउनका लागि संविधान संशोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । ‘अहिले यो प्रणालीको रक्षा गर्ने, सुधार, संशोधन गरेर अघि बढ्ने हो । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । हिजो ४२ वर्ष मात्रै मानिस बाँच्थे । बालमृत्यूदर धेरै भएको अवस्थाबाट देश सुधार भइसकेको छ’, प्रधानमन्त्री ओलीले भने ।

जाजरकोट भूकम्पपछि बाँडिएको अस्थायी आवास निर्माणको रकममा बेथिति भएको खुलासासमेत गरेका छन् । प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्केका वास्तविक संरचनाभन्दा बढीलाई अस्थायी आवासको रकम बाँडिएको बताएका हुन् । ‘जाजरकोटको कुरा गर्ने हो भने त्यहाँ कति घरधुरी छन् ? कति जनसंख्या छ ?,’ ओलीले भने, ‘३५–३६ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरधुरीलाई किस्ता बाँडिएको छ । जिल्लामा त्यति घरधुरी नै छैनन् । सबै घर भत्किएका पनि होइनन् । बाँडियो ४८ हजारलाई भने त्यहाँ बेथिति भएको छ ।’

वास्तविक अवस्था लुकाएर भएको बेथितिलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए । जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्यांकन अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थायी आवासको रकममा भएको बेथिति अध्ययन गरी तत्काल कारबाही गर्न सम्बन्धित जिल्लामा कार्यालय स्थापना गर्न लागेको बताए । भूकम्पपछिको पुनर्निर्माणमा बजेट व्यवस्थापन भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बाँकी रकम पनि यथाशीघ्र पठाइने बताए । जाजरकोट भूकम्पबाट पाठ सिकेर बलिया पूर्वाधार निर्माणमा सबैले हातेमालो गर्नुपर्ने प्रधानमन्त्री ओलीले आग्रह गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन् । ‘दिनैपिच्छे सरकार गैजान्छ भन्न थाले । अहिलेका दुई ठुला पार्टी बनेर सरकार बनेको हो । साधारण अवस्थामा सरकार बनेको हैन । अब १६ महिना मैले सरकार चलाउँछु, त्यसपछि शेरबहादुर जीले सरकार चलाउनुहुन्छ । तपाईंहरू ढुक्क हुनुहोस् यो सरकार २०८४ सम्म जान्छ’ उनले भने ।

यसैगरी राजावादीहरूको आन्दोलनप्रति संकेत गर्दै होहल्लाका भरमा सत्ता कब्जा हुन नसक्ने बताए । ‘हा–हु.का भरमा सत्ता कब्जा गर्ने, कुन प्रणाली ल्याउन खोजेको हो ? यो संविधान फाल्ने, कस्तो संविधान ल्याउने ? राणा शासनतर्फ फर्कने ?’ ओलीले अहिले गन्तव्यहीन खालका कुराको बाढी आएको बताए । ‘हरेक मान्छे राजा हुन खोज्ने ? संविधानभन्दा माथिका कुरा गर्ने । सामाजिक सञ्जाल हेरि नसक्नु छ । हाम्रो सभ्यता यो हैन, हामी सभ्य देशका नागरिक हौँ, यो संस्कार हाम्रो होइन । जात, धर्मलगायत विभिन्न तरिकाले जनताकाबीच फाटो ल्याउने काम भइरहेको छ ।’

देशलाई सही बाटोमा जानका लागि कांग्रेस–एमाले सरकार बनेको बताउँदै उनले प्रश्न गरे, ‘संविधान नमान्ने रे ? के मान्छौँ त ?’ उनले केही मानिस सडकमा कराइरहेका बताउँदै २०८४ सालमा देखाइदिने बताए । उनले भने, ‘केही साथीहरू सडकमा कराइरहेका छन्, लोकप्रिय छु भन्ने लाग्छ भने २०८४ पर्खिनुस् न । चुनावमा आउनुहोस् ।’

प्रकाशित मितिः   २४ फाल्गुन २०८१, शनिबार १०:१८