६० हजार घुससहित बन अधिकृत रङ्गेहात पक्राउ

सुर्खेत, २८ चैत । ईलाका बन कार्यालय मगरागाडी बर्दियाका सहायक बन अधिकृत भरत कुमार थापा घुस लिदालिदै पक्राउ परेका छन् । सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय परिसरभित्रैबाट पक्राउ गरेको हो ।

जनचेतना सामुदायिक बन उपभोक्ता समिती बनियाभार ४ बर्दियाबाट कानुन बमोजिम लिलाम गरिएका साल,धौटीअसनासहित बिभिन्न जातका अन्दाजी १ हजार १ सय २ क्युफिट गोलीया काठ सम्बन्धित काठ सप्लायर्सलाई स:मिलसम्म लैजाने प्रयोजनार्थ चलान स्विकृती दिनुपर्ने प्रचलित कानुन बमोजिम गर्नु पर्ने काम नगरी आलटाल गरेको र घुस मागेको उजुरी अख्तियारमा परेको थियो । घुस बापतको रकम लेनदेन हुन गैरहेको भन्ने सूचनाको आधारमा मिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरबाट गएको टोलीले उनलाइ रङ्गेहात पक्राउ गरेको क्षेत्रीय कार्यालयका प्रवक्ता जंग बहादुर डाँगीले जानकारी दिए । 
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार १२:४५