दशौँ राष्ट्रिय खेलकुद: बारम्बार सर्दा तयारीमा अन्योल

 

सुर्खेत: थपिएको मितिमा पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पछिल्लो बोर्ड बैठकले प्रतियोगिताको अर्को मिति तय गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

पहिलो पटक म्याद थपेर आउँदो चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने भनिएको थियो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो । उक्त मितिमा नहुनेभएपछि चैतमा म्याद थपेको बोर्ड बैठकले पुनः आगामी वर्षको जेठमा मिति तोकेको छ । तर यो मितिमा पनि राष्ट्रिय खेलकुद हुनेमा सरोकारवालाहरू नै विश्वस्त छैनन् ।

अर्थ मन्त्रालयले बजेट स्वीकृतिमा विलम्ब गरेको कारण देखाउँदै चैत्रमा सम्भव नभएको राखेपले जनाएको छ । संघीय सरकारले चालु आर्थिक वर्षमा प्रतियोगिता सम्पन्न गर्न ६० करोड रूपैयाँ विनियोजन गरेको थियो । तीन वर्ष अघि गण्डकीको पोखरामा नवाँै राष्ट्रिय खेलकुद समापन हुँदा २०८१ मंसिर २ गतेदेखि ९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदासमेत सरकारले प्रतियोगिता सञ्चालनमा चासो नदिएको खेल क्षेत्रका सरोकारवालाको गुनासो छ । राखेपले बारम्बार मिति सार्दा तयारीमा अन्योल सिर्जना भएको छ । बारम्बार मिति सारिँदा प्रतियोगिताको समग्र व्यवस्थापनका साथै खेलाडी प्रशिक्षण लगायतका कामहरूमा अन्योलता सिर्जना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको प्रतियोगिताको आयोजक राखेप र व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुन् । प्रस्तावित मितिमा वीरेन्द्रनगरमा अत्यधिक गर्मी हुने, गर्मीले भार क्षमतामा असर पर्न गइ विद्युत अनियमित हुने तथा मौसम प्रतिकूलताका कारण सो समय उपयुक्त नभएको बताइन्छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्लाई आग्रह गरेका हुन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्म हुने तय भएको छ । पटकपटक मिति सरेपछि मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् । ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन,’ मुख्यमन्त्री कँडेलले भने । प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण लगायतका कामलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने भनाइ राखे । प्रतियोगिताका लागि निर्देशिका बनाउन खेलकुद मन्त्रालयले समन्वय नगरेको उनले बताए ।

यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुद प्रतियोगिता आयोजक संघीय सरकार भएकाले आफूहरूले निर्धारित मितिमै गर्न थुपै्र पटक आग्रह गरेको बताए । ‘हामी व्यवस्थापन गर्न तयार छौँ, रंगशाला निर्माण भइसकेको अवस्था छ,’ उनले भने । खेलकुद प्रतियोगिता हुने ग्यारेन्टी भएमा कर्णाली प्रदेश सरकार व्यवस्थापनको तयारीमा जुट्ने मन्त्री भण्डारीको भनाई छ ।

वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार भएपनि संघीय सरकारले निर्णय नगर्दा प्रदेश सरकार पनि अलमलमा परेको छ । आकर्षक र भव्य रंगशाला दशौँको पखाईमा भएपनि प्रदेश सरकार र संघीय सरकारको बेवास्ताका कारण खेलप्रेमीहरू निराश बन्न पुगेका छन् । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ । रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँको लागि २४ खेल खेलाउने तयारी छ ।

 

ठाउँ–ठाउँमा खेलपूर्वाधार

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रुकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण गरिएपनि खेलको मिति अन्योलमा हुँदा समस्या भएको हो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०८१, बिहीबार ०९:३४