प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने

सुर्खेत: प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभा बैठकलाईसम्बोधन गर्ने भएका छन् । फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने भएका हुन् ।

मुख्यमन्त्री यामलाल कँडेलले आइतवार प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेशसभा बैठकमा सम्बोधनका लागि निम्तो दिएका थिए । काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री कँडेलले विशेष सम्बोधनका लागि निम्ता पत्र हस्तान्तरण गरेका हुन् ।

ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउँदैछन् । सोही क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले निमन्त्रण गरेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २२९ को उपनियम (२) बमोजिम नेपालको राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सम्बोधन गर्न पाउने व्यवस्था रहेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘पाँच शीर्ष पदमा आसीन सम्माननीय व्यक्तित्वहरूले प्रदेशसभामा सम्बोधन गर्न चाहेमा प्रदेश सभामुखज्यूले अनुमति दिन सक्ने नियमावलीमै व्यवस्था गरिएको छ,’ सचिव बुढाथोकीले भने । प्रदेश सरकारले अब प्रधानमन्त्री प्रदेशसभामा सम्बोधन गर्ने जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयलाई पठाउने छ । प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद लिमिल्सेनाले प्रदेश सभामा विशेष सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः   १९ फाल्गुन २०८१, सोमबार ०६:०१