राष्ट्रिय खेलकुद तेस्रो पटक सर्‍यो

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तेस्रो पटक पनि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १२१ औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रतियोगिता मंसिरमा गर्ने भनिएको थियो । दशौँ खेलकुद कर्णाली प्रदेशमा आयोजना हुँदैछ । त्यसका लागि पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । राखेपले ओलम्पिक कमिटीको निर्वाचन अवैध रूपमा भएको बताउँदै आएको छ ।

निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् । राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाही स्वरूप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

प्रकाशित मितिः   १६ फाल्गुन २०८१, शुक्रबार ०६:०१