नयाँ ताल

कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिएको छ । पर्यटकीय क्षेत्रको विस्तार तथा विकास गरेर आर्थिक लाभ हासिल गर्न सकिने भएपछि पूर्वाधार निर्माणमा जोड दिएको हो । सोही योजनाअन्तर्गत सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा नयाँ ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । मंगलवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ताल निर्माण कार्यको शिलान्यास गरे । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो ।

२०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । यसअघि निर्माणको तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको छ । यसअघिको तालमा डुंगा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ । बुलबुलेमा विभिन्न प्रजातिका चराहरू आउँछन्, मान्छेको आवात–जावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन् । जाडो याममा साइबेरियन चराहरू पनि आउँछन् । नयाँ ताल चराहरूको बासस्थान पनि हुनेछ । बुलबुलेमा तालको सौन्दर्य बढाउनका लागि नयाँ ताल निर्माण गर्न लागिएको हो । ताल चार हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । तालमा जथाभावी रूपमा फोहोर जम्मा हुँदा थप दुर्घन्धित हुनुका साथै विभिन्न किसिमका चराहरू विचलित भइरहेका छन् ।

कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत पाँच सय पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ । वि.सं. २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच÷पाँच वटा धारा छन् । नयाँ ताल निर्माण योजना अघि बढ्दै गर्दा अहिले भइरहेको ताल र उद्यानलाई व्यवस्थि तगर्नेतर्फ पनि स्थानीय र प्रदेश सरकारले ध्यान दिन भने जरुरी देखिएको छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०८१, बिहीबार ११:५०