दूधको अनुदानमा निरन्तरता
सुर्खेत: कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको दुग्ध उत्पादक किसानलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ । आर्थिक वर्ष २०७९/०८० बाट कार्यक्रम कार्यान्वयन गरिएको थियो । उक्त वर्ष केही जिल्लामा मात्र कार्यक्रम कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०८०/०८१ बाट भने प्रदेशका दशवटै जिल्लामा कार्यक्रम कार्यान्वयन भइरहेको प्रदेश सरकारले जनाएको छ ।
उक्त कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक रूपमा पशुपंक्षी पालन गर्दे आएका छन् । पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने उद्देश्यले सरकारले अनुदानको कार्यक्रम ल्याएको हो । सिधै कृषकको खातामा अनुदान जाने भएकाले कामको विवरणको आधारमा अनुदान दिने गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यो वर्ष पनि कार्यक्रम कार्यान्वयनमा गएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन अनुदान रकम वितरणका लागि प्रदेश सरकारले एक करोड २७ लाख बजेट विनियोजन गरेको छ । गाईभैँसी पालन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्नका लागि दुध उत्पादन तथा बिक्री वितरणका आधारमा डोल्पा, हुम्ला, कालीकोट, मुगु र जुम्ला जिल्लाका कृषकहरूलाई प्रति लिटरमा दश रूपैयाँ अनुदान दिने गरिएको प्रदेश सरकारले जनाएको छ । बाँकी पाँच जिल्ला रूकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटका कृषकलाई प्रतिलिटरमा पाँच रूपैयाँ अनुदान दिने गरिएको हो । पछिल्लो समय यो कार्यक्रम प्रभावकारी मानिएको छ ।
कृषकलाई एक करोड अनुदान
गत आर्थिक वर्षमा प्रदेशभरका कृषकहरूले एक करोड २३ हजार रूपैयाँ अनुदान लिएका थिए । कृषकको सहज रूपमा पहुँच हुने हुँदा धेरै कृषक कार्यक्रममा समेटिएका हुन् । कृषकले सहज रूपमा अनुदान लिनेगरी व्यवस्था मिलाएको पुशपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । पुशपन्छी निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका तीन हजार तीन सय ७६ जना दुग्ध उत्पादक कृषकलाई एक करोड २३ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको छ । उनका अनुसार कर्णालीमा ३७ लाख ९१ हजार चार सय २९ लिटर दुधको प्रोत्साहन रकम वितरण गरिएको हो ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै कर्णालीबाट लुम्बिनीका दाङ र बाँकेमा ४२ करोड ९२ लाख ५० हजार बराबरको दुध निर्यात भएको छ । सो आर्थिक वर्षमा लुम्बिनीका नेपालगञ्ज र बर्दियाबाट भने एक करोड ३७ लाख बराबरको दुध कर्णालीमा आयात भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांक अनुसार प्रदेशभर ६ लाख एक हजार पाँच सय १० वटा गाईगोरु रहेका छन् । जसमध्ये एक लाख दश हजार दुई सय २८ गाई दुहुना रहेको र दुई लाख ९५ हजार दुई सय ५२ राँगाभैँसी रहेकोमा एक लाख सात हजार तीन सय ६९ वटा भैसी दुहुना रहेको पंगेनीले बताए ।
चार हजार पशुमा कृत्रिम गर्भाधान
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ मा चार हजार तीन सय ५२ पशुमा कृत्रिम गर्भाधान गरिएको निर्देशनालयले जनाएको छ । जसमा गाईमा दुई हजार तीन सय चार, भैँसीमा एक हजार आठ सय ६२ र बाख्रामा एक सय ८६ कृत्रिम गर्भाधान गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार दुई सय ५९ र आर्थिक वर्ष २०७९/०८० मा तीन हजार आठ सय आठ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको पंगेनीले बताए । यो वर्ष पनि कृत्रिम गर्भाधान गर्ने काम धमाधम भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः ९ फाल्गुन २०८१, शुक्रबार ०६:०८
साझा बिसौनी ।