‘आम निर्वाचनअघि नै महाधिवेशन’

सुर्खेत: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने निश्चित भएको बताएका छन् । नेपाल प्रेस युनियनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुको तयारीले खासै फरक नपर्ने समेत बताए ।

कोइरालाले १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्ने नेताहरूको बैठकले आफ्नो अभियानलाई कुनै बाधा नपर्ने पनि बताए । ‘उहाँहरूले हिजो पनि देउवालाई सघाउनुभएको हो, अहिलेपनि देउवासँगै छु भनिरहनुभएको छ । त्यसले मलाई फरक पर्दैन । अबको महाधिवेशनमा म सभापतिको उम्मेदवार रहन्छु र कार्यकर्ताहरूको मलाई साथ रहनेछ’, शेखरले भने ।

नेता कोइरालाले पार्टीको महाधिवेशन २०८४ को चुनावपछि गर्ने प्रस्ताव स्वीकार्य नहुने बताए । कांग्रेसको विधान अनुसार २०८२ मंसिरमा हुनुपर्ने महाधिवेशन गर्न बाधा परे विधानकै व्यवस्था अनुसार ६ महिना वा वर्षदिन थप्न सकिने तर विधान विपरीत महाधिवेशन ढिलाइ गर्न नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   ९ फाल्गुन २०८१, शुक्रबार ०६:०२