विद्यार्थी बोकेको बस दुर्घटना

सुर्खेत: बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीमा दुर्घटना भएको छ । आइतवार साँझ ५ः३० बजेतिर सु.प्र. ०१००१ ख ३०५४ नम्बरको बस दुर्घटनामा परेको हो ।

ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा ६ जना विद्यार्थीहरू घाइते भएको पनि उनले बताए । घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको विश्वकर्माले बताए ।

बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसले बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थीलाई भ्रमणका लागि पोखरा लिन लागेको बताइएको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०८१, सोमबार १०:२९