अपराध न्यूनीकरण गर्न ‘साइबर सुरक्षा’ कार्यक्रम

 

सुर्खेत: प्रदेश सरकारले साइबर अपराधसम्बन्धी घटना न्यूनीकरण गर्न ‘साइबर सुरक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ । पछिल्लो समय बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि कार्यक्रम गर्न लागिएको हो ।

बढ्दो विद्युतीय अपराध न्यूनीकरण गर्न साइबर सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न लागेको प्रदेश सरकारले जनाएको छ । यो वर्ष विभिन्न सचेतनामूलक कार्यक्रम कार्यान्वयन गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा साइबर सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि दश लाख बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी तुलसीप्रसाद आचार्यले बताए । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै समेटेर साइबर सुरक्षा कार्यक्रम ल्याएको छ ।

साइबर सुरक्षाका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न लागिएको आचार्यले बताए । साइबर अपराधका घटना बढ्दै गएपछि थप सुरक्षा चुनौती थपिएको छ । प्रविधिसँगै प्रयोगकर्ता बढेको र त्योसँगै अपराधिक गतिविधि बढ्दो क्रममा रहेकाले साइबर सुरक्षा सचेतनाका कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । विद्यालय सार्वजनिक स्थान लगाएतका ठाउँमा सचेतनाका कार्यक्रम गरिनेछ । प्रदेश सरकारले हुनसक्ने थप थुनौतीलाई मध्यनजर गरेर साइबर सुरक्षाको कार्यक्रम ल्याएको छ । यो वर्षदेखि योजनावद्ध रुपमा कार्यक्रम कार्यान्वयन गर्न लागेको हो ।

 

बढ्दो साइबर अपराध

इन्टरनेटको पहुँच बढेसँगै साइबर अपराधको दर पनि बर्सेनि बढ्दो छ । प्रहरीका अनुसार दिनप्रतिदिन साइबर अपराधका घटनामा वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर चार वटा साइबर अपराधका उजुरी परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गतवर्षदेखि जिल्ला–जिल्लामा साइबर अपराधका मुद्दा दर्ता हुनेगरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशभर साइबर अपराधसम्बन्धीका नौ वटा उजुरी दर्ता भएका थिए । प्रहरीका अनुसार साइबर अपराधमा विभिन्न किसिमका नग्न तस्विरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति देखिएको छ ।

गतवर्षदेखि जिल्ला–जिल्लामा साइबर अपराधका मुद्दा दर्ता हुनेगरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । उनका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको छ ।

नयाँ प्रविधिसँगै प्रयोगकर्ता बढेको र त्योसँगै आपराधिक गतिविधि झन बढिरहेको उनको भनाइ छ । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ श्रेष्ठले भने । उनले यस्ता अपराध हुन नदिन प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाइएको श्रेष्ठले जानकारी दिए । साइबर हेर्ने छुट्टै जनशक्ति नहुँदा समस्या हुने गरेको प्रवक्ता श्रेष्ठको भनाए छ । साइबर अपराधका धेरै घटना हुने गरे पनि प्रहरीमा भने न्यून मात्र दर्ता हुने गरेका छन् । श्रेष्ठले भने, ‘प्रदेशमा साइबर अपराध हेर्ने छुट्टै जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका छौँ, जनशक्ति नहुँदा काम गर्न समस्या भएको छ ।’

प्रकाशित मितिः   २ फाल्गुन २०८१, शुक्रबार ०६:०६