‘सरकारले भ्रष्टाचारी संरक्षण गर्‍यो’

सुर्खेत: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले भ्रष्टाचारीहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर बनेको सरकार भ्रष्टाचारी संरक्षित भएको बताएका हुन् । भ्रष्टाचारीहरूको संरक्षणमा लागेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी दाहालको थियो ।

साथै उनले अहिलेको गठबन्धन तोड्ने र आफूहरू सरकारमा जानेबारे कल्पना नै नगरेको जिकिर पनि गरे । प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, २०८४ पछिसम्म गए पनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रष्ट पारे । ‘जस्तो गरे पनि सरकार टिकिरहोस् भन्ने त हैन तर सरकारप्रति माओवादीको कुनै चासो छैन,’ उनले भने, ‘हामी जनतामा छौँ, माओवादीलाई एक्लै चुनावमा जान सक्दैनन् भन्ने आरोप छ, त्यो गलत हो, उपनिर्वाचनले देखाइसकेको छ ।’

उनले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागिपरेको पनि बताए । ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे’ उनको भनाई थियो ।

माओवादी कसैको वैशाखीबिनाकै चुनाव लड्न सक्ने सामथ्र्य राख्ने पनि उनको भनाइ थियो । प्रचण्डले पार्टीभित्र अहिले कुनै समस्या नभएको प्रष्ट पारे । ‘विद्यार्थी संगठनको चुनावलाई लिएर मिडियामा आएको सबै विषय सत्य हैन,’ उनले भने, ‘सबै माओवादीकै विद्यार्थी हो । अहिले राम्रो काम गर्नेगरी अघि बढिरहनु भएको छ ।’

समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको विषयमा छलफल भइरहेको पनि बताए । नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको उनको भनाई थियो । ‘अहिले हामी समाजवादी मोर्चामा छौँ, एकताको विषयमा पनि छलफल चलिरहेकै छ,’ प्रचण्डले भने, ‘यद्यपि अहिलेसम्म एकताको कुराले ठोस् आकार ग्रहण गरिसकेको अवस्था छैन ।’ उनले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनाएर छलफल गरेको पनि दाबी गरे । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ,’ उनले भने ।

प्रकाशित मितिः   ३० माघ २०८१, बुधबार १०:५२