तीर्थयात्री सवार बस दुर्घटना

सुर्खेत: सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस दुर्घटना भएको छ । आइतवार बेलुका साढे ५ बजेतिर भे १ ख ४३३१ नम्बरको बस बबईभन्दा एक किलोमिटर अघि सुर्खेतपट्टि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपक खड्काका अनुसार घाइते सबैको उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको छ । भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको रिजर्भ बस पुलभन्दा तल खसेका प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार चालकसहित बसको अगाडिको भागमा बसेका पाँच/सात जना गम्भीर घाइते छन् ।

 

प्रकाशित मितिः   २८ माघ २०८१, सोमबार ०६:०१