‘तोकिएको समयमै प्रतियोगिता गर’
सुर्खेतः संसदीय समितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न सरकारलाई सुझाव दिएको छ । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई सुझाएको हो ।
शुक्रवार बसेको समितिको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न ‘फास्ट ट्रयाक’मा काम गर्न निर्देशन दिए । उनले आफूहरूको चाहना समयमै प्रतियोगिता होस् भन्ने रहेको बताए । ‘समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद सञ्चालन गर्न कसरी फास्ट ट्र्याकमा लैजान सकिन्छ, त्यो गर्नूस् । विधिसम्मत समयमै गर्नूस्’, सभापति थापाले भने ।
दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर तोकिएको समयमा प्रतियोगिता नहुने निश्चित भएपछि आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना गर्नेगरी समय निर्धारण गरिएको छ ।
प्रकाशित मितिः २६ माघ २०८१, शनिबार ०९:५७
साझा बिसौनी ।