भेरी लिफ्टिङ आयोजना: रुख कटानको अनुमति

सुर्खेत: भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउनका लागि थप सहजता भएको छ । मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माण स्थलमा रहेका रुख कटानको अनुमति दिएसँगै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने बृहत् योजना कार्यान्व्यनको बाटो खुलेको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रुख कटानको अनुमति दिने निर्णय गरेको हो । वीरेन्द्रनगर र लेकवेशी नगरपालिकामा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको हो । जग्गा भोगाधिकारसहित रुख कटानको अनुमति पाएकाले अब थप कानुनी प्रक्रिया पूरा गरेर काम अघि बढाइनेछ । मन्त्रिपरिषद्ले रुख कटान अनमति दिएसँगै आयोजनाको काम तीव्र गतिमा अघि बढ्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।

भेरी लिफ्टिङ आयोजनाअन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको सर्वेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पाँचवटा ठूला ट्याङ्की निर्माण गरिनेछ । सुरुवाती चरणका काम धमाधम अघि बढेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले बताए । उनका अनुसार पाइपलाइन विस्तारको प्रि–फिजिविलीटी अध्ययनको काम धमाधम भइरहेको छ । उनले भने, ‘सम्झौता गरेर पहिलो चरणमा काम भइरहेको छ, योजनावद्ध रूपमा काम अघि बढाउछौँ, तीन तहकै सरकारको समन्वयमा काम भइरहेको हो ।’

भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच ठेक्का सम्झौता भएको हो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए । उनका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजना बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

आयोजनाअन्तर्गत भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत् अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्वेशन ट्याङ्की निर्माण हुनेछ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत् उपत्यकामा पानी वितरण गरिने छ । आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्वेशन ट्याङ्की निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ ।

त्यस्तै, दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कामहरू अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको ठेक्का सम्झौता गरिएको हो । वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २४ माघ २०८१, बिहीबार ०६:०६