‘नेतृत्व लिन युवाहरू अग्रसर हुनुपर्छ’
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक नेतृत्व लिन युवाहरू अग्रसर हुनुपर्ने बताएका छन् । नीति र शासनमा युवा कार्यक्रम अन्र्तगत कर्णालीका विभिन्न जिल्लाहरूबाट सहभागी भएका युवाहरूसँग सोमवार वीरेन्द्रनगरमा अन्तरक्रिया गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिप्रति अपनत्व बढाउन युवाहरूलाई आग्रह गरेका हुन् ।
युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने भन्दा राजनीतिमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्नेमा उनको जोड थियो । राजनीति नै देशको मूल नीति भएकोले राजनीतिलाई घृणा होइन सही ढंगले उपयोग गर्न पनि युवाहरूलाई सुझाव पनि दिए । पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढने खालका अभिव्यक्ति पाइने गरेको बताउँदै मुख्यमन्त्री कँडेलले राजनीति र दललाई गाली गर्नुभन्दा सुधार गर्ने बाटोमा युवाहरू नै अघि सर्नु पर्ने बताए ।
बाहुबली र खानदानको आधारमा राजनीति गर्ने र जनप्रतिनिधि हुने जमाना समाप्त भएको चर्चा समेत गरे । कँडेलले युवाहरूले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा अघिल्लो पुस्तालाई पछाडी पार्न सक्ने संभावना रहेको बताए । उनले भने, ‘हिजो बाहुबली र खानदानको आधार राजनीतिमा स्थापित हुने चलन गइसक्यो, तपाईँहरूले उत्कृष्ट काम देखाउनुस् स्थापित हुन गाह्रो छैन ।’
समाज बदल्ने उपदेश दिन सजिलो भएपनि आफै बदिलिएर देखाउने काम जटिल भएको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले युवाहरूले आफै बदलिएर उदाहरण पेश गर्न पनि सुझाव दिए । राजनीतिमा लागेर धन–दौलत कमाउने भन्दा समाज रूपान्तरणको लागि हो भन्ने विषयलाई युवाहरूले जति धेरै बुभ्न सक्यो त्यति नै राजनीति सहज र निष्कंलक हुने दाबी समेत गरे ।
अन्र्तक्रिया कार्यक्रममा सहभागी युवाहरूले आफूहरूले नीति र शासनको बारेमा बुझेपछि धेरै भ्रमहरू हटेको र राजनीति प्रति आर्कषण बढेको अनुभव सुनाएका थिए । कार्यक्रमको आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले जनप्रतिनिधिमूलक संस्था प्रदेशसभाका काम कारवाहीमा प्रदेशसभा सदस्यहरूलाई सहजीकरण गर्दै उत्प्रेरकको काममा सहभागी यूवाहरूले योगदान दिने बताए ।
प्रकाशित मितिः २२ माघ २०८१, मंगलवार १३:२६
साझा बिसौनी ।