माघ मिलन कार्यक्रम सम्पन्न

माघी पर्वको महान अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा थारु कल्याणकारिणी सभा सुर्खेत लखागिन थारु उत्थान मञ्च, सुर्खेत र राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतको संयुक्त आयोजना थारु कल्याणकारिणी सभाका अध्यक्ष बेचुलाल चौधरीको सभाध्यक्षता र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालको मुख्य आथित्यतामा माघ ३ गते विविध सांस्कृतिक नाचगान झाँकीसहित माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा थारु भाषा कला साहित्य संस्कृति र समाजसेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट भाषा तथा साहित्यमा प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्माननि स्रष्टा, थारु संस्कृतिविद एवम् वरिष्ठ साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ लाई बधाई तथा सम्मान गरेको छ । पन्नालगायत थारु कला संस्कृति संरक्षणमा टेवा पु¥याएका समाजसेवी व्यक्तित्व स्वर्गीय शनिश्रा महतम दहितलाई मरणोपरान्त सम्मान गरेको छ । त्यसैगरी सम्मानित हुनेमा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य मानबहादुर चौधरी, मिना चौधरी, अशोक चौधरी रहेका छन्  ।

कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले–थारुहरुको महान राष्ट्रिय महान माघ भएकोले यसलाई बचाउन थारु समुदायले लागि परेकोले खुशी व्यक्त गर्नुभयो । नेपाल विविधतायुक्त देश हो । अन्य समुदायजस्तै हाम्रो समाजमा रहेका थारु समुदाय संस्कृतिमा निकै नै धनी रहेकोले पुराना मौलिक कुराहरुलाई पुस्तान्तरण गर्न सक्नुपर्छ । पुराना लोक परम्परा संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसके लोप हुने भएकोले यस्ता कार्यक्रम हुन जरुरी भएको औंल्याउनुभयो । हरेक जातिको संस्कृति देशको सम्पदा हुन् । थारु संस्कृति पनि देशकै सम्पदा भएको हुँदा यसको संरक्षण आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । छरिएर रहेको मनलाई एकिकृत गर्न मदत गर्ने भएकोले यस्तो मेला महोत्सवलाई निरन्तरता दिन जरुरी रहेको जिकिर गर्नुभयो ।

लखागिन थारु उत्थान मञ्च, सुर्खेतका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार संस्कृतिविद मानबहादुर चौधरी पन्नाले–थारु समुदायको महान पर्व माघसँग थारु जातिको इतिहास, चालचलन, सामाजिक सांस्कृतिक पक्ष, पौराणिक धार्मिक मूल्य मान्यता आफ्नै मौलिकपन र फरक संस्कार हुनुले माघ पर्व थारु समुदायको गौरब र पहिचान भएको बताउनुभयो । माघ पर्वको लागि कर्णाली प्रदेशको प्रदेश सरकार एवम् स्थानीय सरकारको उदासिनताका कारण विगतदेखि हर्षोल्लासपूर्वक मनाउन नसकेको गुनासो गर्नुभयो । राजधानीको मुटुमा भएको थारु कर्णालीकै भिन्न पहिचान दिने थारु समुदायलाई राज्यले उपेक्षा गरेको जिकिर गर्नुभयो । सुर्खेतका थारु समुदाय सहाराविहीन टुहुरो नागरिक जस्तै हरेक वर्ष एउटा जाबो कार्यक्रम गर्नका लागि वडा वडा धाउनुपर्ने स्थितिका कारण थारु अगुवाहरु निराश हुनुपर्ने विडम्बना रहेको बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष अशोक राजी, जनजाति महासंघका प्रदेश अध्यक्ष बिर बहादुर भोटे, कुमाल समाजका इन्द्र कुमाल लगायतका वक्ताहरुले आपआफ्ना भनाइहरू राखेका थिए ।

माघ मिलन कार्यक्रममा विभिन्न गाउँबाट आएका कलाकारहरुले विभिन्न मघौटा नाचहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा थारु कल्याण कारिणी सभाका जिल्ला उपसभापति सितल्ली चौधरीले धन्यवाद दिएका थिए भने कार्यक्रमको सञ्चालन थारु कल्याणकारिणी सभाका सचिव डिलबहादुर चौधरी गरेका थिए ।

प्रकाशित मितिः   १६ माघ २०८१, बुधबार ११:३०