पूर्वाधारका लागि सहयोग
सुर्खेतमा मानव सेवा आश्रमका लागि आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको हो । सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानव सेवा आश्रमलाई सहयोग गरिएको जनाइएको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटेर मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको छ ।
डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने छ । सुरुवातीका वर्षहरूदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको छ । आर्थिक र सामाजिक सेवाभावले विगतदेखि नै काम गरिरहेको भन्दै ढकालले यो वर्ष निर्माणको काम सुरु हुनेबित्तिकै पालिकाको तर्फबाट पूर्वाधार निर्माणको कामसमेत सुरु गर्न लागेको हो । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको छ । यो वर्ष नै मानव सेवा आश्रमको पूर्वाधार निर्माण सुरु हुँदैछ । त्यसैका लागि आर्थिक संकलन भइरहेको छ । मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि हालै सम्पन्न भएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको छ । आश्रमले गत २१ मंसिरदेखि २८ मंसिरसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भगवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो । महायज्ञबाट करिब पाँच करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको छ ।
महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद जम्मा भएको छ भने एक करोड ३३ लाख २७ हजार ६ सय एक रूपैयाँ अनलाइन माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रूपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार पाँच सय ८२ रूपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् । महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार आठ सय ८२ रूपैयाँ संकलन भएको छ । दान पेटिकामा प्राप्त दान तीन लाख २६ हजार चार सय ५५ र किताब बिक्रीबाट १३ हजार तीन सय पाँच रूपैयाँ संकलन भएको छ । महायज्ञको खर्च भने ५० लाख ७४ हजार ८७ रूपैयाँ भएको बताइएको छ ।
प्रकाशित मितिः १५ माघ २०८१, मंगलवार ०६:०३
सम्पादकीय ।