कर्णाली युवा महोत्सव: ‘युवालाई उद्यममा आकर्षित गनुपर्छ’

सुर्खेत: युवा उद्यमीहरूले राज्यले युवालाई उद्यममा आकर्षित गराउन नसकेको गुनासो गरेका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिवार भएको ‘कर्णालीका युवाः उद्यमी र सिर्जनशील युवा’ सत्रमा वक्ताहरूले युवाहरूलाई विदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका हुन् ।

वीरेन्द्रनगरमा रेष्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरूलाई रोजगारी दिएका पोषणराज रेग्मीले युवालाई विदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरूलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरू स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रूपमा सहजीकरण गर्नु जरुरी छ ।’

अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्र विष्टले पोषणकै भनाइमा सहमत जनाउँदै युवाहरूलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरु युवाहरूलाई प्रेरित गर्नका लागि भएको बताए । नवप्रर्वतनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन् । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरूसमेत उद्यमशिलतामा आर्कषित भएको पाइँदैन् ।’

उद्यमी कल्पना विष्टले उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्का उद्यमी लक्ष्मी भट्टराईले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राख्दै भनिन्, ‘युवाहरूलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।’ लक्ष्मीले वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरूको उत्पादन र बजारीकरण गर्दै आएकी छिन् ।

नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरूका लागि उद्यमशिलता र नवप्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए ।

कर्णालीका युवाहरूमाझ श्रेष्ठ र पाठक

वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवमा शनिवार कर्णालीका युवाहरूमाझ प्रेरणादायी सन्देश लिएर उपस्थित थिए, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र वरिष्ठ पत्रकार दिलभुषण पाठक ।

सन् २०१० की मिस नेपाल सदिक्षाले युवाहरूलाई दृढ अठोट लिएर निरन्तर अघि बढेमा आफ्नो लक्ष्यमा सफलता मिल्ने बताइन् । यसका लागि हरेकले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने बताइन् । ‘अरुले जे सुकै भनोस् तर आफूले आफ्नो क्षमतामा विश्वास राख्नुपर्दछ, कुनै पनि अवसर तपाईंको अगाडि आउँछ भने समाउनुस्, अवसर टाढा टाढा जान खोज्छ भने पछ्याउनुहोस्,’ उनले भनिन्, ‘हरेक कामको सम्मान गर्नुपर्छ, ठूलो सानो जे–जस्तो भएपनि त्यो एउटा अवसर हो, त्यसलाई अंगाल्न सक्नुस् ।’

साथै उनले युवाहरूलाई कुनै काममा एकपटक असफल हुँदैमा निराश नहुन सुझाइन् । ‘तपाई सबै असफल हुनुहोस्, असफल त्यस्तो होस्, त्यसले तपाईंलाई सफलताका लागि अग्रसर गराउन सिकाउँछ,’ उनले भनिन् ।

पत्रकार दिलभुषण पाठकले युवाहरूलाई सही सूचनालाई पछ्याउन आग्रह गर्दै सत्य सूचना भएको मान्छे नै अहिलेको शक्तिशाली हुने बताए । ‘तपाइँको हातमा स्मार्ट मोबाइल फोन छ, सही प्रयोग गरे एकदम ठीक छ तर गलत प्रयोग भएमा भयानक अवस्था निम्तिनसक्छ’ उनले भने, ‘अध्ययनले युवाहरू पनि फेक समाचारको सिकार बनेका छन्, फेक समाचार फैलाउनमा पनि युवा प्रयोग भएका छन्, सूचना आधिकारिक भए मात्र विश्वास गर्नुस् ।’ डिजिटल प्रविधिले सात गुना बढी झुटो समाचार सबैभन्दा छिटो आइपुग्ने उनको भनाइ थियो ।

आफू तीन दशक अघि कर्णाली आएको स्मरण गर्दै उनले त्यतिबेलाको कर्णाली र अहिलेको कर्णालीमा निकै फरक पाएको बताए । ‘३० वर्ष अघि कर्णाली पुग्दा सिटामोल र दुई छाक खाना नपाएर ज्यान गुमाएका मान्छेहरू भेटेँ, कर्णालीमा बाटो थिएन, गाडी थिएनन्, सरकारले चामल ढुवानी गर्ने गरेको थियो, त्यही चामल पाउन हानाथाप हुने गर्दथ्यो,’ उनले भने, ‘तर अहिले परिस्थिति फरक छ, अहिले जता हे¥यो उतै सम्भावनै सम्भावना छन् ।’

दिलभुषणले युवाहरूलाई कर्णालीका सुन्दर दृश्यहरूलाई सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न आग्रह गरे । ‘जुम्लामा फल्ने उचाइको धानजस्तो अन्त छैन्, मूल्यवान जडिबुटी पाइने ठाउँ कर्णाली नै हो, तर यस्ता विषयहरू टिकटिकमा देखिँदैनन्,’ उनले भने ।

प्रकाशित मितिः   १३ माघ २०८१, आईतवार १०:४७