‘कर्णालीको परिचय बदल्न जरुरी’
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवाहरूले चाहेमा कर्णालीको परिचय बदल्न सकिने बताएका छन् । त्यसका लागि युवाहरूको साथ र संकल्पको जरुरी रहेको उनको भनाइ छ । शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका छन् ।
प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको उनले औंल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ’ कँडेलले भने, ‘मैले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन, प्रदेशको विकासमा युवाहरूलाई साथमै राख्नेछु ।’ साथै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरूलाई आग्रह गरे ।
युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् । ‘अहिलेको युवाहरूमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ’ ढकालले भनिन्, ‘जो व्यक्तिको मनमा सधैँ निराशा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रूपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’
त्यस्तै नेपाली कांगे्रसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरूले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो’ उनले भने, ‘तर आज कर्णालीका गाउँहरू खाली भएका छन्, युवाहरू विदेशिएका छन्, हामीले मिहेनत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’
नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरू र वौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाइ छ । ‘युवा रोजगार र समृद्धिका विषयमा सबै एकताबद्ध हुन आवश्यक छ, हामीले युवालाई विदेश नजाउ भनेपनि देशमा रोजगारी दिन सकिने अवस्था छैन’ उनले भने । कर्णाली प्रदेश सरकारले युवा वर्गको क्षेत्रमा काम गर्न आवश्यक रहेको भन्दै उनले युवाहरूलाई उत्पादन, उद्यमशीलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरूको जरुरी रहेको औंल्याए ।
महोत्सवमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव नन्दा बस्याल लगायतले शुभकामना व्यक्त गरेका थिए । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सुरु भएको कर्णाली युवा महोत्सव शनिवारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् ।
प्रकाशित मितिः १२ माघ २०८१, शनिबार ०६:०१
साझा बिसौनी ।