पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको छ । बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माणका काम अघि बढाएको हो । अघिल्ला आर्थिक वर्षहरूमा बजेटको स्रोत सुनिश्चितता नगरेर पूर्वाधार निर्माणका काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन र पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न सरकारले चासो देखाएको छ । बजेट कार्यान्वयन गर्न रणनीति योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । विकास बजेट खर्च कार्यान्वयनलाई गतिशील बनाउन रणनीति योजना निर्माण गएिको मुख्यमन्त्री यामलाल कँडेलले बताए । उनका अनुसार आवश्यकता र औचित्यका आधारमा बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माण थालिएको छ । सरकार फेरबदल भइरहे पनि योजना कार्यान्वयन निरन्तर भइरहने नीति अनुरूप बजेट कार्यान्वयनका लागि रणनीतिक योजना बनाइएको प्रदेश सरकारले जनाएको छ । सोही रणनीति योजना अनुरूप काम भइरहेको हो ।

पर्यटकीय स्थल रारासम्म पुग्ने सडक निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । ताल्चादेखि रारासम्म सडक कालोपत्रेको लागि बजेटको स्रोत सुनिश्चितता गरिएको प्रदेश सरकारले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि सरकारले सडक निर्माण गर्न लागेको छ । सडक निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता भइ टेन्डर आह्वान गर्न लागिएको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ । करिब सात किलोमिटर सडक निर्माणका लागि नौ करोड ८७ लाख बजेटको स्रोत सुनिश्चितता भएको कार्यालय प्रमुख केशव बस्नेतले बताए । उनका अनुसार सडक निर्माणका लागि यसअघि नै डीपीआर बनिसकेको छ । बजेटको स्रोत सुनिश्चितता भइसकेकाले अब टेन्डर आह्वान गरिने उनको भनाइ छ ।

यसैबीच सुर्खेतको पर्यटकीय स्थल गोठीकाँडा आसपासका सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । छेडा–गढी–श्रीचौर–कल्याणकाँध सडकको पनि स्तरोन्नतिसहित कालोपत्रेको लागि टेन्डर प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिनेछ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । सडक निर्माणसँगै सुर्खेतको माथिल्लो भेगमा सडक सहज पहुँचका साथै कर्णाली राजमार्ग जोडनेछ ।

पर्यटकीय स्थलको संरक्षण गरिँदै

यो वर्ष प्रदेश सरकारले पर्यटकीय स्थलको पहिचान, संरक्षण तथा पुनःनिर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना ल्याएको हो । प्रदेशकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलसम्म पुग्न पूर्वाधार निर्माण गर्न लागिएको हो । पर्यटकीय स्थलको संरक्षण गर्ने उद्देश्यले मुगुको राराताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रूकुमपश्चिमको स्यार्पु तालको संरक्षण विकास गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १४ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष धेरै कार्यक्रम राखेको छ । जिल्ला–जिल्लाबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रदेश सरकारले पर्यटन नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढेको हो । पर्यटकीय स्थलको पहिचानदेखि पूर्वाधार निर्माणसम्मका योजना प्रदेश सरकारले राखेको छ । चालु आर्थिक वर्षमा नयाँ पर्यटकीय स्थानको पहिचान गर्ने र पहिचान भएका पर्यटकीय स्थलको संरक्षण गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

प्रकाशित मितिः   १२ माघ २०८१, शनिबार ०६:०६