पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरले पूर्वाधार विकासलाई एकीकृत गर्नेगरी योजना निर्माण गर्न लागेको हो ।

विकास साझेदार संघसंस्थासँग मिलेर पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । अब बन्ने योजनाका विषयमा विभिन्न क्षेत्रसँग छलफल गरिने उनको भनाइ छ । पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र ऊर्जालाई प्रमुख प्राथमिकतामा राखिने छ । योजना निर्माणका लागि विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका लागि बढ्दो जनसंख्या चुनौतीका रूपमा रहेको छ । अव्यवस्थित रूपमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । जसले गर्दा नगरपालिकालाई व्यवस्थित सहर निर्माण गर्न सकस देखिएको हो ।

उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्नेगरी पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख ढकालको भनाइ छ । योजनावद्ध विकास निर्माणका लागि पञ्चवर्षीय योजनाको आवश्यकता अनुभूति भएको ढकालले बताइन् । उनले भनिन्, ‘अब बन्ने योजनाले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा र जलस्रोतको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर मार्गदर्शन गर्नेछ, त्यसैका लागि योजना निर्माण थालेका छौँ ।’ पञ्चवर्षीय योजना निर्माणका लागि सुरुवाती चरणको छलफल भइरहेको उनको भनाइ छ ।

विभिन्न क्षेत्रमा अध्ययन गरेका विज्ञहरूबाट अध्ययन गराएर मात्र योजना निर्माण गरिनेछ । आउने वर्षसम्म पञ्चवर्षीय योजना निर्माण गरिसक्नेगरी छलफल अघि बढाइएको नगरपालिकाले जनाएको छ । द एशिया फाउन्डेसनले नगरपालिकाको पञ्चवर्षीय योजना निर्माणमा सहयोग गर्नेछ । उक्त संस्थाले योजना निर्माणका लागि सुरुवाती चरणका काम गरिरहेको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश पौडेलले बताए । उनका अनुसार नगरपालिकाको पूर्वाधार विकासको मार्गचित्र प्रस्तुत गर्नेगरी योजना निर्माण गर्न लागिएको छ ।

नगरपालिकामा बढ्दो जनसंख्या

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । दिन प्रतिदिन जनसंख्या बढ्दो क्रममा छ । २०७८ सालको जनगणनाअनुसार नगरपालिकाको जनसंख्या एक लाख ५४ हजार भएको छ तर नगरपालिकाले सेवा भने करिब चार लाख जनसंख्यालाई दिनुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइका क्षेत्रमा ठूलो जनसंख्यालाई सेवा दिनु चुनौतीको विषय हो । नेपाल सरकारबाट प्राप्त हुने अनुदान जनसंख्याको आधारमा हुन्छ । त्यसमा पनि अहिले ५० प्रतिशत बजेट कटौती भएर आएको छ । यस्ता अन्य चुनौतीमा विद्युत, वनको कुरा, सडक आफ्नो अधिकार क्षेत्रभित्र नपर्दा काम अघि बढाउन नसकेको अवस्था छ ।

वीरेन्द्रनगरमा धमाधम नयाँ घर निर्माण भइरहेका छन् । बढ्दो जनसंख्याको आधारमा नागरिकलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसमेत हम्मेहम्मे हुनेगरेको छ । अब बन्ने पूर्वाधार विकासलाई एकीकृत र दिगोपना दिनेगरी निर्माण गर्नका लागि नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ ।

शिक्षाको दश वर्षे रणनीतिक योजना

यसैबीच नगरपालिकाले शिक्षाको दश वर्षे रणनीतिक योजना तयार गरेको छ । गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्यले रणनीति योजना निर्माण गरिएको हो । नगरप्रमुख ढकालले वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्न दश वर्षे रणनीतिक योजना लागू गरिएको बताइन् । ‘रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाएको छ, यही योजनाअनुसार हाम्रा बजेट, कार्यक्रम, नीति, समन्वय एवम् सहकार्यका गतिविधि अघि बढाएका छौँ’ उनले भनिन्, ‘सोहीबमोजिम शिक्षाका गतिविधि सञ्चालन भइरहेका छन् । ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियानका साथ रणनीति योजना निर्माण गरिएको हो । ढकालले वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले यहाँको शैक्षिक विकास नमुना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्गचित्र बनाएको बताइन् ।

वीरेन्द्रनगरमा प्रारम्भिक बाल विकाससहित एक सय ५६ सामुदायिक र एक सय ७६ संस्थागत विद्यालय छन् । रणनीतिक योजनामा आर्थिक वर्ष २०८८/०८९ सम्म प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालयभन्दाबाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले हाल कूल बजेटको दश प्रतिशत रहेको शिक्षा क्षेत्रको बजेट आगामी दश वर्षसम्म दोब्बर पु¥याइ विद्यालय शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने लक्ष्य लिएको छ । रणनीतिक योजनामा प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको सहभागिता वृद्धि, सबै विद्यालयमा विद्युतीय पहुँच विस्तार एवम् इन्टरनेट सेवा पु¥याउने उल्लेख गरिएको छ ।

नगरपालिकामा आवश्यकता अनुसारको पाठ्य सामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई जोड दिइएको छ । विद्यालयमै आधारभूत स्वास्थ्य सेवा, दिवा खाजा तथा पोषण कार्यक्रम सञ्चालन गर्ने योजनामा समावेश गरिएको छ । नगरपालिकाले नगर शिक्षा ऐन २०७४, आधारभूत तथा माध्यमिक शिक्षा नीति २०७७, स्थानीय पाठ्यक्रम (हामी र हाम्रो वीरेन्द्रनगर) निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रकाशित मितिः   ६ माघ २०८१, आईतवार ०६:०६