पूर्वाधार निर्माणमा मुख्यमन्त्रीको चासो
सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल यतिबेला पूर्वाधार निर्माणको अवस्था बुझ्न स्थलगत अध्ययनमा केन्द्रित भएका छन् । प्रदेशका विभिन्न जिल्लाहरूमा भइरहेको विकास निर्माणको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले स्थलगत रूपमै पुग्ने गरेका हुन् । जसअनुसार शनिवार मात्रै मुख्यमन्त्री कँडेलले आधा दर्जन बढी आयोजनाको अवलोकन गरे ।
पश्चिम सुर्खेतका तीन स्थानीय तहमा सञ्चालन भएका विकास निर्माणबारे अनुगमन गरेका छन् । मदन भण्डारी राजमार्गको पश्चिम खण्डको कामका बारेमा उनले जानकारी लिएका हुन् । यसैगरी लखरपाटा सिमेन्ट कारखानाको उद्योग सञ्चालन गर्ने प्रस्तावित क्षेत्र चौकुने गाउँपालिका वडा नं. ९ सुनकाँडाको अवलोकनसमेत उनले गरेका छन् । सम्भावना हुँदाहुँदै पनि निर्माण कम्पनीले काम गर्न नसकेको पाइएको मुख्यमन्त्री कँडेलले बताए । सिमेन्ट उद्योगका लागि पाँच सय ४५ रोपनी निजी जग्गामा करिब तीन हजार एक सय मिटर तारबार गरिएको कँडेलको भनाइ छ । उनले भने, ‘काम गर्नका लागि आवश्यक पूर्वाधार बनेका छन्, टेलिफोन टावर बनेको छ, बाटो र विद्युत पुगेको छ, अब के चाहिन्छ ?’
अबको केही समयमा ३३ केभिए लाइन विस्तार हुने पनि उनले बताए । उद्योग सञ्चालन क्षेत्रका स्थानीयहरूसँग छलफल समेत गरेका थिए । यसैगरी प्रदेश सरकारको लगानीमा नाला र कालोपत्रे निर्माण भइरहेको घाटगाउँ–गुटु १४ किलोमिटर सडक र सुुर्खेत घाटगाउँ र कैलाली मोहन्याल जोड्ने चिप्ले पुलको अवलोकन गरिएको छ । घाटगाउँकै भेरीकर्णाली दोभान, शिवधाम र पञ्चपुरी नगरपालिका वडा नं. १० र ११ तातापानी क्षेत्रमा प्रदेश सरकारको लगानीमा कालोपत्रे भइरहेको सडकको समेत मुख्यमन्त्री कँडेलले अवलोकन गरेका हुन् ।
कछुवा गतिमा राजमार्ग निर्माण
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे सडक खण्डको काम सुस्त गतिमा भइरहेको छ । हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति २० प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो ।
२०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि काम अझै अधुरै छ । म्याद थप गरेर निर्माणका काम भइरहेको हो । २०८२ असार १२ गतेसम्मका लागि म्याद थपिएको छ । उक्त खण्डमा अहिले निर्माणको काम कछुवा गतिमा भइरहेको छ । कल्भर्ट निर्माण, नाला निर्माण र सडक विस्तारको काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण कामको प्रगति न्यून रहेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चौकुने गाउँपालिकाको वडा नं. ३ बल्देदेखि वडा नं. २ लगामसम्म र पञ्चपुरी नगरपालिकाको वडा नं. ३ चौरदेखि वडा नं. ९ विद्यापुरसम्म ठेक्का सम्झौता गरिएको हो ।
दुई खण्डमा गरी २५ किलोमिटर सडक निर्माण गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । दुई खण्डलाई एउटै प्याकेज गरी सडक निर्माण गर्न लागिएको हो । जसअन्तर्गत बल्देदेखि लगामसम्म १५ किलोमिटर र चौरदेखि विद्यापुरसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । ठेक्का सम्झौता भइ सडक निर्माणको काम धमाधम अघि बढेको राजमार्ग योजना कार्यालयका इन्जिनियर रेशम ओलीले बताए । उनका अनुसार दुई खण्डको कामलाई एउटै प्याकेजमा गरी सडक निर्माण गर्न लागिएको हो ।
दिवा यति बिल्डर्स सातदोबाटो ललितपुर र मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतबीच ठेक्का सम्झौता भएको छ । २०८१ भदौ १४ देखि २०८४ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । एक अर्ब २६ करोड लागतमा २५ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको हो । यो आयोजना अघि बढेसँगै पश्चिमका तीनै खण्डमा काम सुरु भएको छ ।
यसअघि बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको थियो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । विद्यापुर–बल्दे सडक खण्डमा निर्माणको काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । उक्त खण्डको भौतिक प्रगति ६० प्रतिशत हासिल भएको छ भने वित्तिय प्रगति ५५ प्रतिशत भएको छ । यो खण्डमा भने काम तिव्र गतिमा भइरहेको छ ।
प्रकाशित मितिः २९ पुष २०८१, सोमबार ०६:०६
साझा बिसौनी ।