विद्युत विस्तार योजना: सुल्झिएन बैजनाथको विवाद
सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिन सकेको छैन । जसले गर्दा आयोजना अघि बढाउन सकस भइरहेको छ । काम अवरुद्ध भएको छ ।
बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । तर स्थानीयले कुनैपनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुँने बताइरहेका छन् ।
विभिन्न समयमा स्थानीयसँग छलफल गरिएता पनि सकारात्मक निश्कर्ष आउन नसकेको आयोजनाले जनाएको छ । सोही विवादकै कारण आयोजनाको काम अघि बढाउन समस्या भएको आयोजना प्रमुख रवि चौधरीले बताए । विवाद समाधानका लागि दुई प्रदेशका सरकार प्रमुख प्रदेश तथा संघीय सांसदसमेत त्यस क्षेत्रमा पुगेको थिए । उक्त विषय थप पेचिलो बन्दै गएको छ । तर आयोजनाको विवाद भने समाधान हुनसकेको छैन । विवादित बाहेक अन्य स्थानको काम करिब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विवाद समाधान भए अबको तीन महिनामा काम सम्पन्न गर्न सकिने आयोजना प्रमुख चौधरीले बताए । उनले भने, ‘विवाद टुँगिएको दिनदेखि काम सुरु गरे तीन महिनामा काम सकिन्छ, अन्य क्षेत्रमा लगभग काम सकिएको छ ।’
८० प्रतिशत भौतिक प्रगति
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ८० प्रतिशत प्रगति हासिल भएको छ । अझै २० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकी मितिमा काम समेत गर्न सकेको छैन । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन भने विवाद पनि समाधान हुन सकेको छैन ।
वनको विवाद भने समाधान भएको छ । अहिले रुख कटानको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब दुई हजार रुख काटिएको छ । करिब पाँच हजारभन्दा बढी रुख काटिनेछ । एक सय ४८ फाउन्डेशन निर्माण गरिएको छ । अब १३ वटा फाउन्डेशन निर्माण गर्नुपर्ने हुन्छ । उक्त विवादित क्षेत्रमा उक्त फाउन्डेशन निर्माण गरिनेछ । हालसम्म ३६ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत निर्माणको काम सकिएको छ ।
विवाद समाधान गर्न पहल
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विद्युत विस्तारमा सहजीकरणका लागि संघीय सरकारसँग माग गरिरहेका छन् । उनले समय–समयमा कामका बारेमा अनुगमन गर्ने र देखिएको विवाद समाधानमा चासो राखेका हुन् । विवाद समाधान गर्न सम्बन्धित क्षेत्रलाई उनले निर्देशनसमेत दिएका छन् । प्रदेश समृद्धिको योजना भएकाले सबै क्षेत्रबाट पहल थाल्नुपर्ने उनको भनाइ छ । बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभारको विवाद पेचिलो बन्दै गएपछि मुख्यमन्त्री कँडेलले संघीय सरकारलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् ।
यसैगरी सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हृदयराम थानीले १३२ केभिए प्रशारण लाइन विस्तारबारे चासो दिएका छन् । बिहीवार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कालाई भेटेर उनले आयोजनाको कामका विषयमा छलफल गरेका छन् । छिटोभन्दा छिटो आयोजनाको काम गर्नुपर्ने भन्दै उनले देखिएको विवाद समाधान गर्न संघीय सरकार लाग्नुपर्ने बताएका थिए । १३२ केभी प्रशारण लाइन सम्पन्न नहुँदा सधैँ विद्युत अवरुद्ध हुने समस्याबाट सुर्खेती जनताका साथै सम्पूर्ण कर्णालीबासीहरूले भोगिरहेको समस्यालाई सम्बोधन गर्न प्रशारण लाइनको काममा हाल देखिएका समस्याहरूलाई छिट्टै समाधान गर्नुपर्नेमा उनले मन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।
प्रकाशित मितिः २७ पुष २०८१, शनिबार ०६:०६
साझा बिसौनी ।