मुसोमलाई गुणस्तर सुनिश्चितता प्रमाणपत्र

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन प्रमाण–पत्र प्राप्त गरेको छ । आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले मुसोमलाई गुणस्तर सुनिश्चितता प्रमाण–पत्र प्रदान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवंम् पीआरटी संयोजक प्रा.डा. केशरजंग बराल सम्मिलित समितिले गरेको मुल्यांकन र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड तथा सुचांकहरू पुरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरे पश्चात् मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टलाई उक्त प्रमाण–पत्र हस्तान्तरण गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आफ्नो मन्तव्यका क्रममा प्रमाण–पत्र प्राप्त गर्न सफल भएकोमा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप गुणस्तर वृद्धि गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले मुसोम, गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन प्रमाण–पत्र प्राप्त गर्न सफल कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था भएकोमा मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश र समग्र देशकै ऐतिहासिक एवम् गौरवको विषय भएको उल्लेख गरेका थिए, भने समग्र मध्यपश्चिम विश्वविद्यालयनै प्राप्त गर्न तर्फ अगाडि बढिरहेको उल्लेख गरेका थिए ।

त्यसैगरी मुसोमका निर्देशक डा. सुशीलकुमार शाहीले मुसोमलाई गुणस्तरीय शैक्षिक संस्था बनाउन स्कुलसँग सम्बन्धित सम्पूर्ण महानुभावहरूको सामूहिक प्रयास र मेहेनतले उक्त सफलता हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा समेत विद्धमान गुणस्तर कायम गर्दै यसलाई थप परिस्कृत गर्दै अगाडी बढ्ने बताए ।

प्रकाशित मितिः   २७ पुष २०८१, शनिबार ०६:०१