क्रिकेटर शर्मा सम्मानित
सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले क्रिकेटर विपिन शर्मालाई सम्मान गरेको छ । बुधवार संघकै कार्यालयमा नगद पुरस्कारसहित उनलाई सम्मान गरिएको हो ।
संघका अध्यक्ष लक्ष्मण कँडेललगायतका पदाधिकारीले नगद पाँच हजार, दोसल्ला र प्रंशसापत्रसहित सम्मान गरेका हुन् । कार्यक्रममा अध्यक्ष कँडेलले खेलकुदको माध्यमबाट कर्णालीलाई राष्ट्रियस्तरमा परिचित गराएकोमा विपिनलाई धन्यवाद दिँदै अब अन्तर्राष्ट्रियस्तरमा कर्णालीको नाम र गौरव उँचो बनाउन शुभकामना दिए । ‘कर्णालीको पहिचान र गौरव भनेकै खेलकुद हो भन्ने हाम्रो मान्यता छ’ उनले भने । विपिनजस्ता थुप्रै प्रतिभावन खेलाडी कर्णालीले जन्माउने विश्वास व्यक्त गर्दै कँडेलले कर्णालीलाई खेलकुदको राजधानी बनाउन निजी क्षेत्रको प्रयास निरन्तर रहने समेत बताए ।
संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतले आसन्न प्रधानमन्त्री कपको तयारीमा रहेका खेलाडी शर्मालाई थप मिहिनेत र सफलताका लागि सुझाव तथा शुभकामना दिए । सम्मान पाएपछि शर्माले खेलकुदमा गरेको लगानी कहिल्यै खेर नजाने भन्दै अहिलेदेखि नै आफ्ना बालबालिकाको खेलप्रतिभामा पनि लगानी गर्न आग्रह गरे । ‘खेलमात्र एउटा यस्तो क्षेत्र हो जहाँ गरिएको लगानी कहिल्यै खेर जाँदैन’ उनले भने, ‘लगानीअनुसार बच्चा या त राम्रो खेलाडी भएर निस्कन्छ या त अनुशासित युवा भएर ।’
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म चलेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेलेका विपिनले उत्कृष्ट प्रदर्शन गरेका थिए । ट्यालेन्ट हन्टबाट आइकोनिक प्लयेरका रूपमा छानिएका उनले कूल १३ विकेट लिँदै उदियमान खेलाडीकोरूपमा पुरस्कृतसमेत भएका थिए ।
प्रकाशित मितिः २५ पुष २०८१, बिहीबार ०६:०१
साझा बिसौनी ।