दैलेखमा ग्यास

दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत पत्ता लागेको हो । पेट्रोलियम पर्दाथ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको छ । ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ र आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ भनेर पत्ता लगाइने खानी तथा भूगर्भ विभागले जनाएको छ । गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । ड्रिलिङपछि निस्किएको नमुनाहरू परीक्षणका लागि चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो । चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुनेछ । नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । पेट्रोलियम पदार्थको उत्खनन र अन्वेषणमा गर्न दुई अर्ब ४० करोड रूपैयाँसँगै प्राविधिक सहयोग गर्ने गरी चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो । ड्रिलिङको काम सकिएसँगै पहिलो चरणको सम्झौता अवधि पनि सकिएको छ । अब अर्को चरणको सम्झिौता गरेर अन्य काम अघि बढाइने आयोजनाले जनाएको छ । ल्याव निकालेर टेष्ट गर्नका लागि समेत आवश्यक बजेट छैन । थप कामको सम्झौता गरेर काम अघि बढाउने तयारी भइरहेको छ ।

दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खनन्को काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पेट्रोलियम पर्दाथ उत्खनन्को काम अघि बढाउने जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोट अनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यावसायिक उत्खनन्का लागि पहल थाल्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः   २२ पुष २०८१, सोमबार ०९:४८