खेलकुद प्रवर्द्धन योजना: चार जिल्लामा रंगशाला

सुर्खेत: कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माणमा सघाइरहेको प्रदेश सरकारले यो वर्ष थप रंगशाला निर्माणमा समेत जोड दिएको हो । चालु आर्थिक वर्षमा जिल्ला–जिल्लामा रंगशाला निर्माणको योजना प्रदेश सरकारले अघि सारेको जनाएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर खेल पूर्वाधार योजना ल्याइएको हो । यो वर्ष चार जिल्लामा रंगशाला निर्माण गर्न लागिएको छ । खेलकुद प्रवद्र्धन गर्न रंगशाला निर्माण गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त योजना अघि बढाउन २० करोड बजेट विनियोजन गरिएको छ । आवश्यकताका आधारमा रंगशाला निर्माण गरिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार डोल्पा, जाजरकोट, सल्यान र रूकुमपश्चिममा रंगशाला निर्माण गरिनेछ । जसअन्तर्गत डोल्पामा हिमाली रंगशालाको परिकल्पना गरिएको छ । उक्त रंगशाला निर्माणको प्रभावकारिताबारे सम्बन्धित स्थानीय तह र जिल्ला खेलकुद विकास समितिले छलफल गरिरहेका छन् । स्थानीय तहसँगको साझेदारीमा काम अघि बढाउने गरी तयारी भइरहेको मन्त्री भण्डारीले बताए । पूर्वाधार बनिसकेपछि त्यसको संरक्षण आवश्यक हुनेभएकाले स्थानीय तहसँग समन्वय गरेर आवश्यकता औचित्यका आधारमा मात्र पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए ।

उनका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोटको कामसमेत भइरहेको छ । खेलपूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा जोड दिइएको मन्त्री भण्डारीले बताए । खेल प्रवद्र्धनका लागि विविध कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेशको विकास र समृद्धिमा युवाको सहभागिता अभिवृद्धिका कार्यक्रम राखिएको छ । युवा नेतृत्व विकास, प्रतिभा पहिचान, उद्यमशीलता तथा स्वरोजगारको नीति अवलम्बन गरिएको छ । युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि प्रशिक्षणको कार्यक्रमसमेत राखिएको छ । प्रदेश सरकारले दशौँ राष्ट्रिय प्रतियोगिता लक्षित पूर्वाधारसँगै अन्य खेलपूर्वाधारलाई समेत प्राथमिकतामा राखेको हो ।

 

सडक पूर्वाधारलाई प्राथमिकता

प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित सडक पूर्वाधार निर्माणमा पनि जोड दिएको छ । हाल सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगितलाई मध्यनजर गरी वीरेन्द्रनगरको प्रदेश रंगशाला आसपासका सडक कालोपत्रेको काम भइरहेको हो । अहिले सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ ।

प्रतियोगिता स्थलसम्म पुग्न र आवातजावत गर्न सहज होस् भन्ने उद्देश्यले सडक कालोपत्रको काम थालिएको हो । चालु आर्थिक वर्षमा प्रतियोगिता लक्षित तीनवटा सडक कालोपत्रे गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जुन काम अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार रंगशाला आसपास क्षेत्रमा सडक कालोपत्रे गर्न लागिएको हो ।

सडक कालोपत्रेको ९७ प्रतिशत काम सकिएको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । रंगशाला पूर्वको धमलाचोकदेखि क्याम्पसचोकसम्म ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । उक्त सडकको २०८१ भदौमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको थियो । उक्त खण्डमा ९८ प्रतिशत काम सकिएको शाहीले बताए । दैलेख रोडदेखि बसपार्कसम्म ६ सय मिटर सडक कालोपत्रे गरिनेछ । उक्त सडकको कामसमेत अन्तिम चरणमा पुगेको छ । २०८१ भदौमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको थियो ।

यस्तै, गणेशचोकदेखि जिरो ड्याम खेलकुद मैदानसम्म पुग्ने ६ सय मिटर सडक कालोपत्रेको काम थालिएको छ । अहिले ६० प्रतिशत सडक निर्माणको काम सकिएको छ । नौ करोडमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको हो । धमलाचोकदेखि क्याम्पसचोसम्म र दैलेख रोडदेखि बसपार्कसम्म ६÷६ सय मिटर गरेर आठ/आठ करोडमा ठेक्का सम्झौता गरिएको निर्देशनालयले जनाएको छ । २०८१ भदौदेखि काम सुरु गरेर कार्तिकसम्म सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । अहिले डेढ महिना म्याद थप गरेर काम भइरहेको छ । पुस १७ गतेसम्मका लागि म्याद थपिएको हो ।

प्रकाशित मितिः   १६ पुष २०८१, मंगलवार ०६:०६