‘सुर्खेतको इतिवृत्त–२’ विमोचन
सुर्खेत: पत्रकार सुशीलराज शर्माले सुर्खेतको इतिहास समेटिएको पुस्तक ल्याएका छन् । उनले लेखेको पुस्तक ‘सुर्खेतको इतिवृत्त–२’ शनिवार वीरेन्द्रनगरमा विमोचन गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्तक विमोचन गरेका हुन् ।
विमोचन समारोहमा मुख्यमन्त्री कँडेलले पुस्तकमा सुर्खेतको इतिहास दस्तावेजीकरण भएको बताए । यसमा समेटिएका तथ्यलाई आधार बनाएर जिल्लाको विकास नीति निर्माण गर्न समेत सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा अर्का साहित्यकार डा. महेन्द्रकुमार मल्लले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए भने कर्णाली प्रदेशका समाजिक विकास मन्त्री घनश्याम भण्डारीले पनि मन्तव्य राखेका थिए ।
पुस्तकमा सुर्खेत जिल्लाको भौगोलिक अवस्थितिका साथै सामाजिक, राजनीतिक, प्रशासनिक, जनसांख्यिक अवस्था एवम् जनविश्वास र मूल्यलाई जीवन्त ढंगले लिपिबद्ध गरिएको छ । यस्तै, जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, संगितलगायतका विविध पाटोलाई तथ्यपरक ढंगबाट पुस्तकमा चर्चा गरिएको छ । जिल्लाको पुरातात्विक र साँस्कृतिक महत्वलाई पुस्तकमा स्पष्ट रूपमा चित्रण गरिएको छ ।
पुस्तक जिल्लाको जानकारी लिन चाहने, जिल्लाका विविध वस्तुयथार्थ टिपोट गरी सूचना सम्प्रेषण गर्न र स्थानीय पाठ्यक्रम बनाउनका लागि र उच्चस्तरीय कार्यक्रमिक एवम् प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्न पुस्तक उपयोगी हुने जनाइएको छ ।
लेखक शर्माले यसअघि २०६७ सालमा ‘सुर्खेतको इतिवृत्ति’ पुस्तक प्रकाशन गरेका थिए । त्यसलाई परिमार्जनसहित यसपटक दोस्रो भाग निकालिएको हो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष समेत रहेका उनले २०६६ सालमा ‘नपुरिने घाऊहरू’ समेत प्रकाशित गरेका छन् ।
प्रकाशित मितिः १४ पुष २०८१, आईतवार ०६:०१
साझा बिसौनी ।