लैङ्गिक अल्पसंख्यक: अवहेलना, उपहास र विभेदमा बाँचेको जीवन
सुर्खेत: वीरेन्द्रनगर–१० का रहिस खानलाई आजभोलि आफूलाई महिलाको नामले चिनाउन मन लाग्छ । पुरुष भएर जन्मिए पनि उनलाई महिला भएर बाच्न मन छ । उनलाई नौ वर्षको उमेरबाट नै महिलाको जस्तै पोशाक लगाउन मन लाग्थ्यो । अहिले उनी १९ वर्षका भए । उनी समलिङ्गी पुरुषको पहिचान बोकेर खुलेको एक वर्ष भयो ।
परिवारहरू पनि बुझ्ने भएकोले उनलाई अरुले जस्तो समस्या झेल्नु परेन । तर, उनले हक र अधिकारको लागि भने समानता पाउन सकेका छैनन् । जब समाजमा उनी पहिलो पटक महिला भएर खुले त्यतिबेला नै उनी आफू पुरुष भएको बिर्सिन्थे । घरमा तीन छोरामध्ये उनी माइला हुन् । उनले आफूलाई समलिङ्गी पुरुष भन्न रुचाउँछन् । उनले सानैदेखि महिलाले लगाउने कपडा र जुत्ता लगाउँथे, त्यस्तै कपाल बनाउन रुचाउँथ्ये । उनलाई गाउँमा सबैले माइला भनेर चिन्थे ।
समलिङ्गी भएको खुलेपछि घरमा त केही असहज भएन तर समाजमा हिँड्डूल गर्न समेत निकै समस्या भइरहेको छ । समाजकै कारण आफ्नो पहिचानअनुसारको लुगा लाउन र खुलेर बोल्न सक्दैनन् । उनले पुरुषकै नामबाट नागरिकता लिएका छन् । खानलाई महिला हुँ भनेर खुल्न मन छ । तर समाजकै कारण उनी पुरुषकै भेषमा हिँड्डूल गर्ने गर्छन् ।
जन्मघर सल्यान भएकी अञ्जली बिसी जन्मजात पुरुषजस्तो देखिने भएपनि व्यवहार भने महिलाको जस्तो थियो । घरका मान्छे पनि उनलाई छोरा नै भनेर बोलाउँथे । सात–आठ वर्षको उमेरमा उनी आफ्नी आमाको साडी र ब्लाउज लगाएर सिंगारपटार गरी नाँच्थिन् । विद्यालयमा पनि उनी केटा साथीहरूभन्दा केटी साथीहरूसँग संगत गर्न मन पराउँथिन् । छात्राको सिटमा किन बसेको भनेर शिक्षकहरू उनीसँग रिसाउँथे पनि । छात्र भनेपछि उनलाई मनमा धेरै डर लाग्थ्यो । वरिपरिका छिमेकीले पनि ‘तँ त छक्का–हिजडा होस्’ भन्थे । तर अञ्जलीका अभिभावकले ‘छोरा हो, रहर मानेर केटीजस्तो व्यवहार गर्छ भन्थे ।’
२०६४ सालमा १९ वर्षको उमेरमा एसएलसी पास गरेर कमाउन गएकी अञ्जली त्यतिबेलासम्म केटा नै भनेर चिनिन्थिन् । सल्यान जिल्लाबाट उनले नागरिकतासमेत पुरुषको भनेर लिएकी छन् । निकैपछि उनले आफूलाई समलिङ्गीको रूपमा खुलाएकी हुन् ।
‘समाजमा भएका लैङ्गिक अल्पसंख्यकहरू बाहिर आउने वातावरण त थिएन नै । मलाईसमेत बजार वा गाउँमा कतै देखेपछि ऊ त्यो छक्का–हिँजडा भनेर दुव्र्यवहार गर्थे,’ अञ्जलीले भनिन्, ‘बाह्र वर्षसम्म सुर्खेतमा यो समुदायको हक–अधिकारका लागि लड्दा–लड्दै गएपछि पहिला दुव्र्यवहार गर्नेहरू नै अहिले नमस्कार दिदी, बहिनी चिया खाएर जानूस् भनेर सम्मान गर्छन् ।’ अहिले उनी लैङ्गिक अल्पसंख्यक समुदायको हक हितका लागि आवाज उठाउँछिन् । उनले इन्द्रेणी आवाज संस्था खोलेकी छिन् ।
समाजमा काम गर्दै गर्दा वीरेन्द्रनगर–१ की ३० वर्षीय जेनिशा नेपाली पनि अञ्जलीसँग जोडिइन् । पहिला–पहिला पुरुषको पहिरन लगाएर फाट्टफुट्ट बजारमा देखिने जेनिशा अहिले महिलाको पहिरनमा अञ्जलीसँगै विभिन्न अभियानमा जान्छिन् । अझै पनि जेनिशालाई घर–परिवारले र समाजले त स्वीकार गरेका छैनन् । तर पनि उनले यो समुदायको मुक्ति र अधिकारको लागि घर–परिवार र समाजसँगै संघर्ष गरिरहेकी छन् ।
उल्लेखित रहिस, अञ्जली र जेनिशा यो समुदायका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै छुट्टै पहिचान बोकेका थुप्रै व्यक्ति खुलेर आउन सकेका छैनन् । समाजबाट परिस्कृत हुने डरले उनीहरू आफ्नो पहिचान अनुसारको जीवन जिउँन सकेका छैनन् । तीन तहकै सरकारले उनीहरूको हक अधिकारको लागि काम गर्न नसकेको उनीहरू बताउँछन् ।
अधिकार पैरवीका लागि संवाद
वीरेन्द्रनगरमा लैङ्गिक तथा अल्पसंख्यक समुदायको अधिकार पैरवीका लागि संवाद गरिएको छ । उनीहरूका हकअधिकार स्थापित कसरी काम गर्न सकिन्छ भनेर संवादको आयोजना गरिएको हो । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) को आयोजना तथा सामाजिक विकास मन्त्रालयको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागीहरूले उक्त समुदायको हक हित र संरक्षण गर्न सरकारले छुट्टै नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका थिए । यौनिक अल्पसंख्यकलाई जीवनयापन गर्न सहज नभएको अधिकारकर्मी टेकराज आचार्यले बताए । उनी समाजको दृष्टिकोण बदलेर यौनिक अल्पसंख्यकहरूले पनि खुलेर समाजमा बाँच्न पाउनुपर्ने बताउँछन् ।
सरकारले निर्माण गर्ने हरेक नीति तथा कार्यक्रम र बजेट छुट्टै व्यवस्था हुनुपर्ने माग गरिएको छ । सामाजिक विकास मन्त्रालयका महिला तथा बालबालिका शाखा प्रमुख अनिता ज्ञावलीले धेरै कार्यक्रम लैङ्गिक तथा अल्पसंख्यक समुदायको हितका लागि ल्याइएको बताइन् । सीपसँग जोडेर कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ छ । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले दोस्रो पञ्चवर्षीय योजना निर्माण गरिरहँदा लैङ्गिक तथा अल्पसंख्यक समुदायका सवाल समेटिएको बताए । सरकारले नीति पद्दतीमा रहेर पूर्वाधार निर्माणसँगै सामाजिक सरोकारका विषयमा समेत काम गर्नुपर्ने उनले जनाए । उनले भने, ‘यो समुदायको हितका लागि सचेतना कार्यक्रम गर्नुपर्छ, मानिस सचेत भएमात्र अन्य काम गर्न सकिन्छ । अहिले अन्य कार्यक्रम भन्दा पनि सचेतनाका कार्यक्रम आवश्यक छन् ।’
लैङ्गिक तथा अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्न संविधानको परिपालना आवश्यक रहेको प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले बताए । सरकारले आवश्यक नीति तथा कार्यक्रममार्फत् यो समुदायलाई आयआर्जनका कार्यक्रममा जोड्नुपर्ने उनको भनाइ छ । आयोगका अर्का सदस्य डम्बरबहादुर रावलले सामाजिक सचेतनाका कार्यक्रममार्फत् यो समुदायको पहिचान स्थापित गर्नुपर्ने बताए । समाजमा अपहेलित हुने डरले पहिचानसहित यो समुदाय खुल्न नसकेको उनको भनाइ थियो ।
प्रकाशित मितिः १३ पुष २०८१, शनिबार ०६:०६
साझा बिसौनी ।