पकेट क्षेत्र केन्द्रित चिस्यान केन्द्र सञ्चालन

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले निर्माण गरिएका चिस्यान केन्द्र सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर निर्माण गरिएका चिस्यान केन्द्रको मर्मत गरेर सञ्चालन गर्ने नीति लिएको हो ।

सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरेको छ । अघिल्ला वर्षहरूमा भवन निर्माण गरिएतापनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेश सरकारको लगानीमा चार ठाउँमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । प्रदेश सरकारको ७० प्रतिशत लगानीमा कोल्ड स्टोर बनेका हुन् । सुर्खेतका तीन पालिका र दैलेखमा गरी चार वटा कोल्ड स्टोर निर्माण गरिएको हो । सरकारको नीति अनुरूप चिस्यान केन्द्र सञ्चालन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयको ७० प्रतिशत र सहकारी संस्थाहरूको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार दैलेखको नारायण नगरपालिकामा सोमवारदेखि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । प्रदेश सरकारको करिब दुई करोड लागनीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ देखि चिस्यान केन्द्रको भवन निर्माणको काम थालिएको थियो । आ.व २०७९÷०८० मा मात्र चिस्यान केन्द्रको भवन निर्माणको काम सकिएको हो । यो वर्षदेखि प्रदेश सरकारले बनेका भवन मर्मत गरेर सञ्चालन गर्ने जनाएअनुरूप चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । सोमवारदेखि ट्रयालको रूपमा सुन्तलाको भण्डारण थालिएको कार्यालय प्रमुख राजु भुजले बताए । उनकाअनुसार एक हजार पाँच सय क्वीन्टल भण्डारण क्षमता रहेको छ ।

 

ठाउँ–ठाउँका चिस्यान केन्द्र सञ्चालनमा

वीरेन्द्रनगरमा चिस्यान केन्द्र सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर सञ्चालन गरिएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । निर्देशनालयको ७० प्रतिशत र साना किसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र बनेको हो । २०८० फागुनदेखि चिस्यान केन्द्र सञ्चालन भइरहेको संस्थाकी अध्यक्ष शान्ति सिंहले बताइन् । दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भएपनि हाल दुई सयबाट सेवा सुरु गरिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माण थालिएको थियो । कृषि विकास निर्देशनालयको दुई करोड, साना किसान कृषि सहकारी संस्थाको डेढ करोड लागतमा चिस्यान केन्द्र निर्माण निर्माण भएको हो । पहिलो चरणमा आलु र दोस्रो चरणमा स्याउ भण्डारण गरिएको र अहिले सुन्तला भण्डारणका लागि तयारी थालिएको सिंहको भनाइ छ ।

यस्तै, पूर्वी सुर्खेतको गुर्भाकोटमा समेत चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौरमा चिस्यान केन्द्र निर्माण गरिएको हो । ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । २०७८ वैशाखबाट निर्माणको काम थालिएको थियो । कृषि विकास निर्देशनालय सुर्खेतको एक करोड ३५ लाख ६८ हजार, गुर्भाकोट नगरपालिकाको दश लाख र श्री कोटमाझ खर्क सामुदायिक कृषि सहकारी संस्थाको ५८ लाखमा चिस्यान केन्द्र बनेको जनाइएको छ । ३०÷३० मेट्रिक टनका दुई वटा, १५ मेट्रिक टनको एउटा र दश मेट्रिक टनको एक गरि कूल चार वटा चेम्बर रहेको चिस्यान केन्द्रमा बीउविजनसँगै तरकारी तथा दुग्धजन्य वस्तुको चिस्यान गरिनेछ ।

यसैगरी पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) पुनःसञ्चालनमा आएको छ । विद्युत अभावले सञ्चालन हुन नसकेको उक्त कोल्ड स्टोर गतवर्षदेखि सञ्चालनमा आएको हो । तीन करोड लगानीमा उक्त कोल्ड स्टोर बनाइएको हो । आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आर्थिक वर्ष २०७७/०७८ बाट सञ्चालनमा ल्याइएको थियो । दुई सय मेट्रिकटन क्षमता रहेको कोल्ड स्टोर दुई वर्ष मात्र जेनतेन चल्यो । तर पछिल्लो समय सञ्चालन हुन सकेको थिएन । गतवर्षदेखि जेनेरेटरेको व्यवस्था गरेर चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको् छ । विद्युत आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न समस्या भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भूसालले बताइन् ।

विद्युत अभावले चिस्यान केन्द्र सञ्चालनमा समस्या भइरहेको मन्त्रालयले जनाएको छ । सरकारको नीति अनुरूप विद्युत महसुलमा छुट गरेर चिस्यान केन्द्र सञ्चालन गर्नेगरी अघि बढेको मन्त्रालयका प्रवक्ता कठायतले बताए । उनले भने, ‘थ्रि–फेज लाइन विस्तार नहुँञ्जेल समस्या छ, त्यसपछि सरकारले विद्युत महसुलमा सहूलियत गरेर सञ्चालन गर्ने नीति लिएको छ, विद्युतकै कारण चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको हो । अहिले जेनेटेरको सहायताले अधिकांश चिस्यान केन्द्र सञ्चालनमा आएका छन् ।’

प्रकाशित मितिः   ११ पुष २०८१, बिहीबार ०६:०६