मंगलगढीको साधारणसभा

सुर्खेत: मंगलगढी बहुउद्देश्यीय सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेमबहादुर रावतको अध्यक्षता तथा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसीको प्रमुख आतिथ्यतामा शनिवार साधारणसभा गरिएको हो ।

सभामा संस्थाका सचिव प्रकाशचन्द्र थापाले प्रगति प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष खगेन्द्रराज केसीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । जसअनुसार आर्थिक वर्ष २०८०÷८१ मा पाँच करोड ५६ लाख ३० हजार बराबरको कारोबार भएकोमा आर्थिक वर्ष २०८१÷०८२ मा ६ करोडभन्दा बढी वार्षिक कारोबार लक्ष्य राखिएको छ ।

सचिवद्वारा पेस गरिएको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन पनि सभाले पारित गरेको छ । यसका साथै सभाले रिक्त रहेको लेखा समिति संयोजकमा पदमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने सञ्चालक समिति सदस्यमा भोजराज मल्ल र निताकुमारी खड्कालाई मनोनित गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरूमध्ये चारजनालाई छात्रवृत्तिद्वारा पुरस्कृतसमेत गरिएको छ । अन्य विधागत पुरस्कारहरू पनि प्रदान गरिएको संस्थाले जनाएको छ ।

 

 

प्रकाशित मितिः   ७ पुष २०८१, आईतवार ०८:५३