क्वालिफायरमा चुक्यो कर्णाली

सुर्खेत: कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि होडबाट बाहिरिएको छ । बिहीवार भएको दोस्रो क्वालीफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि कर्णालीको उपाधि लक्ष्य अधुरै रहेको हो ।

जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य जनकपुरले आठ विकेट गुमाएर १९ ओभरमा हात पारेको थियो । जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा एक छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

बलिङमा कर्णालीका विपिन शर्माले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन मात्र बनाएको थियो । ब्याटबाट कर्णालीको प्रदर्शन पनि उच्च रहेन । उसका लागि सबैभन्दा ठूलो योगदान गुल्सन झाको रह्यो । उनले २० बलमा २५ रन बनाए । उनले मोहमद मोहसिनको बलमा बोल्ड हुन अगाडि एक चौका तथा दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २४ रन बनाए । उनले २० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर जयकिशन कोल्सावाला एकै रनमा आउट भए । उसका तीन विदेशी खेलाडीको योगदान सामान्य मात्रै रह्यो । त्यसमध्ये जिसन मक्सुदले १२, विलियम बोसिस्टोले १४ तथा चाडविक वाल्टनले ११ रन बनाए । अन्त्यतिर युनिस ठकुरीले १२ रन जोडे र स्कोरलाई अगाडि बढाए । जनकपुरका बलरमध्ये ललित राजवंशी, जिमी निसम र मोहसिनले दुई÷दुई विकेट हात पारे ।

अब एनपीएलको पहिलो संस्करणको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणमा शीर्ष दुईमा रहेका टिम नै उपाधिका लागि भिड्ने भएका छन् । बुधवार पहिलो क्वालीफायरमा जनकपुरलाई नै हराउँदै सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरले भने दोस्रो क्वालीफायर खेले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । फाइनल खेल शनिवार हुनेछ ।

प्रकाशित मितिः   ५ पुष २०८१, शुक्रबार १०:४८