रोजगार कार्यक्रम कार्यान्वयन गर्न अख्तियारी

सुर्खेत: कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहलाई अख्तियारी दिने भएको छ । प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरेर कार्यान्वयनका लागि स्थानीय तहलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतबाट कार्यान्वयन हुने कार्यक्रम केही वर्षदेखि स्थानीय सरकारको समन्वयमा सञ्चालन हुँदै आएको छ । चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहलाई अख्तियारी दिने निर्णय गरिएको हो । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बड्डिचौर–ब्युरेनी, बाबियाचौर–विद्यापुर सडक खण्डलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न पहल गर्ने निर्णयसमेत गरेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले १३.१ किलोमिटर दूरीको यो सडकलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१ लाई संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधिलाई स्वीकृत गरिएको छ भने अपाङ्गता प्रदेश निर्देशन समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता रोकथाम तथा पुनस्र्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिका पनि स्वीकृत गरेको छ । यि तिनवटै कार्यविधि र निर्देशिका स्वीकृतिका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

प्रकाशित मितिः   ३ पुष २०८१, बुधबार १०:३५