तीन गाउँ जोड्न तीनमुखे पुल

 

पुल शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

 

 

 

सुर्खेत: पूर्वी सुर्खेतको खटाङ क्षेत्रमा तीनमुखे पुल निर्माण गर्न लागिएको छ । संघीय सरकारको लगानीमा पुल निर्माण योजना अघि बढाइएको हो । गुर्भाकोट नगरपालिका वडा नं. ८, १० र १२ नम्बर वडा जोड्ने पुल निर्माण गर्न लागिएको छ ।

पुल निर्माणको चर्चा चलेको लामो समयपछि कार्यान्वयनमा लगिएको हो । दुई वर्ष अघि नै पुल निर्माणका लागि डीपीआर तयार पारिएको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले पुल निर्माणको डीपीआर तयार पारेको हो । डीपीआर अनुसार ३० करोड ९० लाख ७० हजार लागत अनुमान रहेको छ । ठेक्का सम्झौता भइ पुल निर्माण प्रक्रिया अघि बढेको स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन पुलचोकले जनाएको छ । २०८१ असार ३ गते पुल निर्माणको ठेक्का सम्झौता गरिएको कार्यालयका इन्जिनियर गोपालबहादुर थापाले बताए । सम्झौताअनुसार २०८३ असार १० गते पुल निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन पुलचोक र श्री गीता कन्स्ट्रक्सन स्याङजाबीच पुल निर्माणको सम्झौता भएको हो । २१ करोड १९ लाखमा पुल निर्माणको सम्झौता भएको इन्जिनियर थापाले बताए । ठेक्का सम्झौता गरेर निर्माणको काम अघि बढाइएको हो ।

तीनमुखे पुल एक दशमलव ६० मिटर चौडाइ र ६ सय ५४ दशमलव ६० मिटर लम्बाइको हुने थापाले जानकारी दिए । खटाङ टापुमा बन्ने टावरको उचाइ २५ दशमलव २३ मिटरको हुनेछ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाउन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ । अहिले निर्माणको काम धमाधम अघि बढेको थापाको भनाइ छ । उनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिल्लर निर्माण गरिनेछ ।

यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउन्डेसन निर्माण गरिनेछ । तीन वडाका तीन गाउँ जोड्नलाई तीनमुखे पुल निर्माणको काम थालिएको हो । पुल निर्माणपछि त्यहाँका स्थानीयलाई राहत पुग्ने अपेक्षा गरिएको गुर्भाकोट नगरपालिकाले जनाएको छ । लामो र सुविधायुक्त पुल निर्माणको काम सुरु गरिएको र पालिकाले समेत सहजीकरण गरिरहेको नगरप्रमुख हस्त पुनले बताए । उनले पुल निर्माणलाई तीव्रता दिनुपर्नेमा समेत जोड दिएका छन् ।

 

पुलको शिलान्यास

मंगलवार तीनमुखे पुलको शिलान्यास गरिएको छ । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पुलको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै उनले निकै लामो समयदेखि आफ्नो प्राथमिकतामा परेको योजना कार्यान्वयन भएको बताए । पुल निर्माणले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनले जनाए । खड्काले भने, ‘धार्मिक तथा पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुनसक्छ, खटाङ क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र हो, नदी उत्तर फर्कनु निकै धार्मिक मानिन्छ, यहाँको भेरी नदी पनि उत्तरमा फर्केको छ ।’

पुल निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न समेत उनले निर्माण कम्पनीलाई सुझाव दिएका छन् । देश विकासकै मेरुदण्डका रूपमा यो आयोजनालाई अघि बढाइएको उनले बताए । पुल निर्माणले नागरिकको सहजताका साथै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने खड्काको विश्वास रहेको छ ।

प्रदेश योजना आयोगले समेत ठूला आयोजना कार्यान्वयनमा जोड दिएको छ । योजना आयोगका सदस्य अशोकनाथ योगीले दोस्रो पञ्चवर्षीय योजनामा ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए । अब बन्ने योजनामा सडक र पक्की पुलको पहुँच नपुगेका स्थानमा झोलुङ्गे पुल बनाउने नीतिमा र योजनामा समावेश गरेको जानकारी दिए । जनताको आवश्यकतासँग जोडिएका सवाललाई नीतिमै समेटेर लैजान लागिएको उनको भनाइ छ । सरकारले निर्माण गर्ने कार्यक्रमलाई सहयोग पुग्नेगरी नीति तथा योजना निर्माण गरिएको उनले बताए । आयोजना निर्माणका लागि गुर्भाकोट नगरपालिकाले समेत सहयोग गरिरहेको छ । संघीय सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजन पुलचोकले पुल निर्माण गर्न लागेका हुन् ।

 

 

प्रकाशित मितिः   ३ पुष २०८१, बुधबार ०६:०६