कर्णालीको प्लेअफ सम्भावना बलियो
सुर्खेत: कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो भएको छ । शुक्रवार भएको खेलमा जित हात पारेसँगै कर्णालीले आफूलाई उपाधि होडमा कायम राखेको हो ।
लिग चरणमा ६ खेल खेलिसक्दा कर्णालीले चार वटामा जित निकाल्दै आठ अंक जोडेको छ । दुई खेल भने गुमाएको छ । लिगको सुरुवाती दुई खेल नै कर्णालीले गुमाएको थियो । त्यसपछि भने लगातार चार खेल जित्न सफल भएको छ । अब कर्णाली लिग चरणमा एक खेल खेल्नेछ । अन्तिम खेलमा अर्को बलियो टोली सुदूरपश्चिम रोयल्ससँग खेल्नुपर्ने छ ।
शुक्रवार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गरेको हो । कर्णालीले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए । तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए । बेन कटिङ एक रनमै आउट भएपछि आएका साद बिन जफर पनि १२ रनमा रनआउट हुन पुगे । तिलक भण्डारी तीन रन र रेमन सिाइमन्ड चार रनमा नटआउट रहे । अन्तिम बलसम्म पनि जित्ने सम्भावना कायम राखेको लुम्बिनीका लागि तिलक र साइमन चुके ।
उनीहरूले अन्तिम ओभरमा नौ रन आवश्यक हुँदा मात्रै तीन रन जोडे । खराब ब्याटिङकै कारण अन्तिम खेलमा पनि लुम्बिनीले पराजित हुनुपर्यो । सोमपाल कामीले एक मेडनसहित २४ रन खचिएर एक विकेट लिए । नन्दन यादव एक र बिपिन शर्माले पनि समान एक विकेट हात पारे । जिशन मक्सुदले दुई र विलियम बसिस्टोले एक विकेट लिँदै महŒवपुर्ण अंक दिलाए ।
त्यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २८ रन बनाएको थियो । कर्णालीका लागि विलियम बसिस्टोले तीन चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए । ओपनर बाबर हायतले २० रन, देव खनाल तीन रन, चाडविक वाल्टन १३ रन जोडेर आउट हुँदा गुल्शन झा आठ रन जोडेर आउट भए । अर्जुन घर्तीले २५ बलमा २५ रन योगदान दिँदा कप्तान सोमपाल कामी सात रनमा र नन्दन यादव शून्य रनमै आउट भए ।
लुम्बिनीका लागि विकास आग्रीले दुई ओभरमा तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा रामोन सिमोन्ड्स, सादबिन जाफर र रोहित पौडेल समान एक÷एक विकेट हात पारे ।
जितसँगै कर्णालीले अंक तालिकामा आठ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उसको रनरेट ०.०९५ छ । लुम्बिनी भने सात खेलमा ६ मा हार र एकमा जित निकाल्दै प्लेअफबाट बाहिरिसकेको छ ।
शुक्रवारसम्मको अंकतालिका अनुसार ६ खेलमा पाँच जिते र एक हार बेहोरेको जनकपुर बोल्टस् १० अंकसहित शीर्ष स्थानमा छ । एक खेल खेल्न बाँकी छँदै जनकपुर भने प्लेअफमा पुगिसकेको छ ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्ससँग आठ अंक छ । उसले पाँच खेलमा एक हार बेहोर्दा चार खेल जितेको छ । त्यसैगरी ६ खेल खेलेर आठ अंक नै बटुलेको कर्णालीमा तेस्रो स्थानमा हुँदा ६ खेलमा तीन जित र तीन हार बेहोरेको चितवन राइनोज चौथो स्थानमा छ ।
शीर्ष चारमा परेर प्लेआफमा पुग्न संघर्षरत विराटनगर किंग्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स क्रमशः पाँचौँ, छैठौँ र सातौँ स्थानमा छन् । प्लेअफ होडबाट बाहिरिसकेको लुम्बिनी लायन्स भने पुछारमा छ । उसले सात खेल खेलिसक्दा एउटामा मात्रै जित हात पारेको छ भने ६ वटा गुमाएको छ । जसका कारण दुई अंक मात्रै जोड्न सकेको छ ।
एनपीएलमा शनिवार पनि दुईवटा खेल हुँदैछन् । पहिले खेलमा पोखरा र काठमाडौं भिड्नेछने भने दोेस्रो खेलमा चितवन र जनकपुरले प्रतिस्पर्धा गर्नेछन् । जनकपुरबाहेकका तीनै टिम प्लेअफ पुग्नका लागि जित्नैपर्ने दबाबमा छन् ।
प्रकाशित मितिः २९ मंसिर २०८१, शनिबार ०६:०६
साझा बिसौनी ।