दशौँ राष्ट्रिय खेलकुद: प्रतियोगिता सर्‍यो, तयारी तीव्र

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण भइसकेका छन् । अहिले खेलाडी छनोटको काम धमाधम भइरहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ । हालसम्म ६ वटा खेलका लागि खेलाडी छनोट गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । उनका अनुसार फुटबल र भलिबलका खेलाडी छनोटको काम धमाधम भइरहेको छ । समय प्रर्याप्त रहेकाले खेलाडी छनोट र पूर्वतयारीका खेल सञ्चालनमा जोड दिएको उनको भनाइ छ । २४ खेल खेलाउन सकिने गरी पूर्वाधार निर्माण गरिएको र सोहीअनुसार तयारीका खेल खेलाइनेछ । केही खेल सुर्खेतमा खेलाइनेछ भने केही खेल जिल्ला–जिल्लामा खेलाइनेछ । प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वतयारीका खेल खेलाउने भन्ने विषयामा छलफल गरेर खेल खेलाइने परिषद्ले जनाएको छ । जिल्ला–जिल्लामा निर्माण गरिएका खेलपूर्वाधार अनुसारकै खेल खेलाइनेछ । जिल्लाहरूमा पूर्वाधार निर्माणका काम सकिएका छन् ।

 

रंगशाला निर्माणको काम ९९ प्रतिशत सकियो

प्रदेश रंगशाला निर्माणको काम करिब सकिएको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा रंगशाला निर्माणको ९९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अब एक प्रतिशत काम मात्र बाँकी छ । परिषद्का सदस्य सचिव सञ्ज्यालका अनुसार हालसम्म ९९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तीय प्रगति हासिल भएको छ । हालसम्म एक अर्ब ५० करोड बजेट कार्यान्वयन भएको छ । २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी रंगशाला निर्माणको काम गरिएको खेलकुद परिषद्ले जनाएको छ ।

 

ठाउँ–ठाउँमा खेलपूर्वाधार

दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भइ प्रयोगमा आइसकेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको छ ।

दैलेखमा कभर्डहल मर्मत गरिएको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका लागि कभर्डहल मर्मत गरिएको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । खेल मैदान निर्माणको काम तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ ।

अधिकांश स्थानका खेलपूर्वाधार बनिसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । रारामा कबड्डी खेल मैदान निर्माण सकिएको उनले जनाए । दैलेख र रूकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेलमैदान निर्माण सम्पन्न भएको उनले जानकारी दिए । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधारसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   २८ मंसिर २०८१, शुक्रबार ०६:०६