कर्णाली याक्सको तेस्रो जित
सुर्खेत: नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले तेस्रो जित हात पारेको छ । मंगलवार पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको हो ।
यो जितसँगै कर्णालीले ६ अंक जोडेको छ । अहिलेसम्म खेलेका पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हार भोगेको कर्णाली अंक तालिकाको चौथो स्थानमा छ । जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
पोखराले दिएको एक सय चार रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो दुई रनमा अविजित रहे । गुल्सनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरे । चाडविक वाल्टनले ४२ रन बनाउँदै पेभेलियन फर्के । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए । ओपनर बाबर हायात सात रन बनाउँदा सागर ढकालको बलमा बोल्ड भए । तीन बलको सामान गरेका देव खनाल शुन्य रनमा नै विपिन खत्रीको बलमा एलबीडब्लु धरापमा गरे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा एक सय तीन रनमा समेटियो । कर्णाली याक्सका विलियन बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको थियो । पहिलो विकेटका लागि दिनेश खरेल र आन्दे्रस गउसले ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाएका थिए । खरेल २६ रन बनाउँदा युनिस ठकुरीको बलमा बोल्ड आउट भए । गउस २५ रनमा क्याच आउट हुन पुगे ।
तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा पोखराले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन । विलियमले चौथो ओभरमा तीन विकेट लिएपछि पोखराको ब्याटिङ तहसनहस हुन पुग्यो । पोखराका दिलिप नाथ तीन रन बनाउँदा १४औँ ओभरको पहिलो बलमा विलियमको बलमा अर्जुन घर्तिको हातबाट क्याच आउट भए । सोही ओभरको तेस्रो बलमा माइकल लिस्क दुई रनमा बोल्ड आउट भए। अन्तिम बलमा नारायण जोशी एक रनमा एलबीडब्लु धरापमा परे ।
रेमोन रेफरले २० तथा कप्तान कुशल भुर्तेलले १० रन थपे । विपिन खत्री १० रनमा रनआउट भए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । पोखरालाई कम स्कोरका रोक्न घातक बलिङ गरेका विलियमले ६ विकेट लिए । उनले आफ्नो स्पेलमा मात्र २८ रन दिए । योसँगै एनपीएलको एकै खेलमा पाँच विकेट लिने उनी चौथो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्ष ठाकरले एकै खेलमा पाँच विकेट लिएका थिए । सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए ।
यसैबीच मंगलवार नै भएको अर्को खेलमा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो । यसअघि चार खेल खेलेको लुम्बिनीले पाँचौँ खेलमा जित निकालेको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे ।
टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको चितवनले सुरुवातमै दुई विकेट लिँदै दबाबमा पारेको थियो । तर, लुम्बिनीका पौडेलले सम्हालिएको ब्याटिङ गर्दै चितवनविरुद्ध एक सय ६७ रनको स्कोर खडा गरे । पौडेलले ८० रन बनाउँदा साद विन जाफरले पनि ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, अर्जुन साउदले ११ र टोम मोर्सले १० रन बनाएसँगै लुम्बिनीले ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
एक सय ६८ रनको विजय लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटिएसँगै ३३ रनले पराजित हुन पुग्यो । चितवनका लागि सन्तोष कार्कीले १०, लुक बेनकेनस्टाइनले ३१, रवि भोपाराले १२ रन जोडे । त्यस्तै, कुशल मल्लले २० रन जोड्दा रिजन ढकालले नटआउट रहँदै १५ रनको योगदान दिए भने नर सार्कीले २२ रन जोडे ।
बलिङतर्फ पनि लुम्बिनीका पौडेलले चार विकेट लिए । रामोन सिमोन्ड्सले दुई विकेट लिँदा साद विन जाफर र अविशेष गौतमले एक÷एक विकेट लिए । चितवनका लागि रिजन ढकालले तीन विकेट लिँदा कुशल मल्ल र रञ्जित कुमारले १/१ विकेट लिए ।
प्रकाशित मितिः २६ मंसिर २०८१, बुधबार १०:०८
साझा बिसौनी ।