अब्बल बन्दै दलित महिला वडा सदस्य
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ की चन्द्रा नेपालीलाई घरमा गृहिणी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छिन्, आफ्ना मतदातालाई खुसी राख्ने कोशिस गरेकी छिन् । उनको कामबाट उनी आफूभन्दा बढी वडावासी सन्तुष्ट छन् ।
चन्दा वडा सदस्यमा नयाँ अनुहार भने होइनन् । २०७४ सालमा पनि उनी सोही भूमिकामा थिइन् । जनताले उनको काम निकै रुचाएकै कारण पुनः दोस्रो पटक निर्वाचित भइन् । अर्थात् २०७९ को स्थानीय तह निर्वाचनमा पनि दलित महिला वडा सदस्यमा निर्वाचित भएकी छिन् । चन्द्राका लागि आफ्नो व्यक्तिगत जीवन भन्नु नै वडावासीको सेवा हो । ‘मलाई जनताका काम गरेरै खुसी मिल्छ । कति गर्न सकेकी छु भन्ने अरूले मूल्यांकन गर्ने कुरा हो’ उनी भन्छिन्, ‘मैले सक्ने जति गर्नुपर्छ भनेर लागिरहेकी हुन्छु । आपतविपत् वा समस्यामा सक्ने सहयोग गर्न प्रयासरत रहन्छु । मलाई विश्वास गरी जिताउने जनताको लागि म अग्रसर त हुनैप¥यो नि ।’
महिलाका समस्यामा उनी खुलेरै बोल्ने गर्छिन् । वडावासीको समस्या बुझ्न घर–घरमा पुग्छिन् । उनको पहलमा गाउँघरमा स्वास्थ्य शिविर, पाठेघर खस्ने समस्याको पहिचानलगायतका काम भएका छन् । त्यति मात्र होइन बाटो, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यका सवालमा पैरवी र वकालतसमेत गर्छिन् । दुई कार्यकाल जनताको साथमा बिताएकी चन्द्रालाई सकेको जीवनभर समाज सेवामा लगाउन मन छ ।
यस्तै लक्ष्मीकुमारी चुनारा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को निर्वाचित दलित महिला वडा सदस्य हुन् । वडा सदस्यका रूपमा करिब साढे दुई वर्षको अनुभव सँगालेकी उनी काममा हौसिएकी छिन् । सामान्य लेखपढ मात्रै गरेकी सुनार जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि घर व्यवहारमै सीमित थिइन् । अहिले उनमा घर व्यवहार र जनप्रतिनिधिको दोहोरो जिम्मेवारी छ । लक्ष्मी संविधानप्रदत्त समानुपातिक व्यवस्थालाई अवसरमा रूपमा आफूले लिएको बताउँछिन् । तर त्यसअनुसार आफ्नो अवस्था र योग्यता नभएका कारण काममा केही चुनौती देखिएको उनको अनुभव छ । तर पछिल्लो समय जनतासँग भिजेर काम गरिरहेको सुनाइन् । जनताका समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित ठाउँमा पु¥याउने गरेको उनको भनाइ छ ।
वीरेन्द्रनगर वडा नंं. ९ की रत्ना नेपाली पनि चन्द्रा र लक्ष्मीजस्तै दलित महिला वडा सदस्य हुन् । सामान्य लेखपढ गर्न जानेकी उनी पहिलो पटक जनप्रतिनिधि बनेकी छिन् । उनी आफ्नो जिम्मेवारीलाई अवसरका रूपमा लिन्छिन् । बस्तीस्तरका योजना छनोटदेखि महŒवपूर्ण कार्यक्रममा आफ्नो अर्थपूर्ण सहभागिता भएपछि उनी हर्षित छन् । रत्ना भन्छिन् ‘महिलाका स्थास्य समस्यादेखि पूर्वाधार निर्माणका योजनासमेत हामीले छनोट गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि निकै राम्रो अवसर हो ।’ उनले छुवाछुत, छाउपडी, बालविवाह, बहुविवाहसम्बन्धी सवालमा समेत सचेतना दिने र पैरवी गर्ने गरकी छिन् ।
मिना थापा विक युवा दलित महिला वडा सदस्य हुन् । वीरेन्द्रनगर वडा नं. १५ की वडा सदस्य मिना २६ वर्षकी भइन् । नागरिकको सेवा गर्न पाउँदा उनी निकै उत्साही छिन् । उनको पहलमा टोल–टोलमा नयाँ बाटो निर्माण, सरसफाई अभियान, एकल महिला, दलित महिला, सीपमूलक तालिम भएका छन् । टोल विकास समितिलाई सरसफाईसम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्ने गरिएको उनले बताइन् ।
दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक पहुँच र अधिकारका लागि राज्यले अनिवार्य समानुपातिक समावेशिताको अधिकार सुनिश्चित गरेको छ । जसले चन्द्रा, लक्ष्मी, रत्ना मिनाजस्तै दलित समुदायका महिलाहरू स्थानीय सरकारमा प्रतिनिधित्व गर्न पाइरहेका छन्, र नागरिक हितमा काम गरिरहेका छन् ।
यसैबीच वीरेन्द्रनगरमा महिला वडा सदस्यहरूबीच अन्तरक्रिया गरिएको छ । अष्टिेलियन एड र द एसिया फाण्डेशनको स्थानीय सरकार सवलीकरण कार्यक्रम र दलित महिला केन्द्र नेपालको सहयोग र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा वडा नं. १ देखि १६ सम्मका दलित महिला वडा सदस्य र महिला सदस्यको सहभागिता रहेको थियो । महिला वडा सदस्यहरूका सवाल, समस्या, चुनौती र अवसरबारे छलफल गरिएको द एसिया फाण्डेशन केन्द्रका कर्णाली प्रदेश संयोजक विशाल आचार्यले बताए । उनका अनुसार महिला वडा सदस्यले गरेका राम्रा कामका अभ्यासका बारेमा समेत चर्चा गरिएको छ ।
अन्तरक्रियामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले महिला वडा सदस्यको सक्रियता बढेको बताए । जसले गर्दा न्यायिक समितिको समेत प्रभावकारिता बढेको छ । विकास निर्माणका काममा समेत अनुगमनमा सहजता भएको भन्दै उनले सदस्यहरूको कामको प्रशंसा गरे ।
छलफलको सहजीकरण गरेका अधिवक्ता इमान सुनारले कानुनी सचेतनामा जोड दिए । महिला जनप्रतिनिधिले राम्रा कामको थालनि गरेको भन्दै केही कानुनी प्रक्रिया नबुझ्दा काममा अलमल देखिएको बताए । बेला–बेलामा वडा सदस्यहरूलाई क्षमता विकासका कार्यक्रममा जोड्ने गरेको दलित महिला केन्द्र नेपालका धर्मा सुवेदीले बताइन् । वीरेन्द्रनगर नगरपालिकासँग मिलेर काम गरिरहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २३ मंसिर २०८१, आईतवार ०६:०६
साझा बिसौनी ।