जनमत परीक्षण

स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ । २०७९ वैशाखमा भएको चुनावको ठीक साढे दुई वर्षमा उपनिर्वाचन भएको हो । त्यसैले पनि यो उपनिर्वाचनलाई दलहरूको शक्ति र जनमत परीक्षण हुने मौकाका रूपमा हेरिएको थियो । उपचुनावको नतिजाले दलहरूको शक्ति र नागरिकको मतको चित्र देखाएको छ । कर्णाली प्रदेशमा तीन ठूला दलबीच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ । प्रदेशमा रिक्त रहेका आठ पदका लागि भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले तीन पद जित्यो भने नेपाली कांग्रेस र नेकपा एमालेले समान दुई÷दुई पद जित्दा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एक पदमा जित हात पारेको छ ।

उपनिर्वाचनबाट कर्णालीमा कांग्रेसले एउटा नगरपालिका उपप्रमुख र एउटा पालिका अध्यक्ष गुमाएको छ । अघिल्लो चुनावमा माओवादीको सहयोगमा नलगाड नगरपालिकाको उपप्रमुख जितेको कांग्रेसले उपचुनावमा उक्त जितलाई जोगाउन सकेन । यसपटक माओवादीले जितेको छ । आफूले जितेका दुई पद गुमाउँदा कांग्रेसले एउटा पदभने माओवादीबाट खोसेको छ । अघिल्लो पटक माओवादीले जितेको जाजरकोटको कुशे–७ उपनिर्वाचनबाट कांग्रेसले आफ्नो बनाएको छ । एमालेले पहिले जितेका दुई वटा वडाअध्यक्ष पद गुमाउँदा एउटा पालिका अध्यक्ष थप गरेको छ । एउटा वडामा भने विगतकै विजयी नतिजालाई कायम राख्न सफल भएको छ । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पद सत्तासाझेदार दल कांग्रेसबाट खोस्न सफल भएको हो । दैलेखकै दुल्लू–१३ मा एमालेले विगतकै नतिजा दोहो¥याएको छ । नेकपा माओवादी केन्द्रले पनि दुई स्थानमा गुमाउँदा अन्य दुई स्थानमा थप जित हात पारेको छ । माओवादीले कालीकोटको तिलागुफा–४ र जाजरकोटको कुशे–७ मा आफ्नो जितलाई निरन्तरता दिन सकेन । यद्यपि, अघिल्लो पटक तत्कालीन सत्तासाझेदार दल कांग्रेसका लागि छोडेको जाजरकोटको नलगाड उपप्रमुख भने यसपटक माओवादीले फिर्ता ल्याउन सफल भएको छ । यसबाहेक डोल्पाको त्रिपुरासुन्दरी–५ को अध्यक्ष पनि एमालेबाट खोसेर माओवादीले आफ्नो बनाएको छ । कर्णालीको एक पद नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । अघिल्लो चुनावमा माओवादीले जितेको कालीकोटको तिलागुफा–४ मा यसपटक नेमकिपाले बाजी मारेको हो ।

दलहरूले अघिल्लो पटक चुनाव जितेका स्थानमा यसपटक पनि जित्न सफल भए भने अधिकांश पदमा मतदाताले फरक दल र उम्मेदवारलाई रोजेका छन् । यसले सत्तासिन दल र निर्वाचित जनप्रतिनिधिहरूको कामप्रति नागरिक कति सन्तुष्ट छन् या छैनन् भन्ने देखाएको छ । यो सन्देशलाई दलहरूले ग्रहण गर्ने र पालिका होस् या वडाका जनप्रतिनिधिहरूले नागरिकमा हितमा अझ धेरै काम गर्नुपर्ने शिक्षाकोरूपमा ग्रहण गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   १९ मंसिर २०८१, बुधबार ०६:०३