कर्णालीको ‘मद्यावधि परीक्षण’
सुर्खेत:स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा तीन ठूला दलबीच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ ।
प्रदेशमा रिक्त रहेका आठ पदका लागि भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले तीन पद जित्यो भने नेपाली कांग्रेस र नेकपा एमालेले समान दुई/दुई पद जित्दा नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले एक पदमा जित हात पारेको छ ।
उपनिर्वाचनबाट कांग्रेसले एउटा नगरपालिका उपप्रमुख र एउटा पालिका अध्यक्ष गुमाएको छ । अघिल्लो चुनावमा माओवादीको सहयोगमा नलगाड नगरपालिकाको उपप्रमुख जितेको कांग्रेसले उपचुनावमा उक्त जितलाई जोगाउन सकेन । यसपटक माओवादीले जितेको छ । आफूले जितेका दुई पद गुमाउँदा कांग्रेसले एउटा पदभने माओवादीबाट खोसेको छ । अघिल्लो पटक माओवादीले जितेको जाजरकोटको कुशे–७ उपनिर्वाचनबाट कांग्रेसले आफ्नो बनाएको छ ।
एमालेले पहिले जितेका दुई वटा वडाअध्यक्ष पद गुमाउँदा एउटा पालिका अध्यक्ष थप गरेको छ । एउटा वडामा भने विगतकै विजयी नतिजालाई कायम राख्न सफल भएको छ । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पद सत्तासाझेदार दल कांग्रेसबाट खोस्न सफल भएको हो । दैलेखकै दुल्लू–१३ मा एमालेले विगतकै नतिजा दोहो¥याएको छ ।
नेकपा माओवादी केन्द्रले पनि दुई स्थानमा गुमाउँदा अन्य दुई स्थानमा थप जित हात पारेको छ । माओवादीले कालीकोटको तिलागुफा–४ र जाजरकोटको कुशे–७ मा आफ्नो जितलाई निरन्तरता दिन सकेन । यद्यपि, अघिल्लो पटक तत्कालीन सत्तासाझेदार दल कांग्रेसका लागि छोडेको जाजरकोटको नलगाड उपप्रमुख भने यसपटक माओवादीले फिर्ता ल्याउन सफल भएको छ । यसबाहेक डोल्पाको त्रिपुरासुन्दरी–५ को अध्यक्ष पनि एमालेबाट खोसेर माओवादीले आफ्नो बनाएको छ ।
कर्णालीको एक पद नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । अघिल्लो चुनावमा माओवादीले जितेको कालीकोटको तिलागुफा–४ मा यसपटक नेमकिपाले बाजी मारेको हो ।
माओवादीको पुनरागमन
जाजरकोटको नलगाडमा नेकपा (माओवादी केन्द्र) ले बाजी मा¥यो । उपप्रमुख पदको उपनिर्वाचनमा माओवादी केन्द्र आफ्नो विरासत फर्काउन सफल भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने चार हजार दुई सय ७२ मतसहित विजय भइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह) तीन हजार एक सय ४७ मतमा सीमित भइन् । एमाले उम्मेदवार सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत पाइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्वती पुनले एक सय ७९ मत पाउँदा राप्रपा नेपालकी सुनिता पुन रावलले ५८ मत पाइन् ।
नलगाड नगरपालिका माओवादीको प्रभाव क्षेत्र हो । २०७४ देखि नै यहाँ माओवादीले जित्दै आएको छ । तर २०७९ मा कांग्रेससँगको तालमेलका कारण पालिका उपप्रमुख माओवादीले छोडेको थियो । जसमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । उनको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनबाट माओवादीले आफ्नो पुरानै विरासत फर्काएको छ ।
महाबुमा एमाले फर्कियो
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् । शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी भण्डारीलाई हराए । भण्डारीले दुई हजार ६ सय ७५ मत प्राप्त गरे भने माओवादी केन्द्रका जंगबहादुर बरालले आठ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले एक सय १२ मत प्राप्त गरे ।
महावुमा कांग्रेसको विरासत तोडिएसँगै २०७४ पछि एमाले पुनः विजयी भएको हो । शाही उनै उम्मेदवार हुन् जो एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीमा लागेपछि महावुमा एमाले कमजोर बनेको थियो । २०७४ बहुमत वडासहित अध्यक्ष÷उपाध्यक्ष पदमा जित निकाल्दा उनै शाही एमालेका उम्मेदवार थिए । एमाले विभाजनपछि २०७९ मा भएको निर्वाचनमा शाही समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
त्रिपुरासुन्दरीमा माओवादीको बाजी
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन् । उनी एक सय ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले एक सय १६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएका छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो । उपनिर्वाचनबाट एमाले उक्त पद गुमाएको छ ।
दुल्लू–१३ मा एमालेलाई नतिजा
दैलेखको दुल्लू नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी पाँच सय ७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले दुई सय ७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले चार, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।
अघिल्लो चुनावमा एमालेका बिर्खबहादुर शाही आठ सय २२ मत पाएर विजयी भएका थिए । शाहीको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि गरिएको उपनिर्वाचनमा पनि एमालेले जित दोहो¥याएको छ ।
सानीभेरी–५ मा कांग्रेसकै निरन्तरता
रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले पाँच सय ९० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका जसिराम बस्नेतले चार सय ३७ मत ल्याए । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।
कुशे–७ मा पनि कांग्रेस
जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह तीन सय ४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले आफ्ना प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले तीन सय ३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले दुई सय ५२ मत ल्याएका छन् । २०७९ को चुनावमा माओवादी केन्द्रका मनबहादुर घर्ती तीन सय ८० मत पाएर विजयी भएका थिए । यसपटक माओवादीले गुमाएको छ ।
तिलागुफामा नेमकिपा
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । नेमकिपाका खड्कराज शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्दका उम्मेदवार नैशोभा शाहीले एक सय १५ मत प्राप्त गरिन् । एमाले उम्मेदवार ऐनबहादुर शाहीले ७८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बमले पनि पाँच मत प्राप्त गरेका छन् । यहाँ अघिल्लो निर्वाचनमा माओवादीले जितेको थियो ।
सर्केगाडमा माओवादीकै निरन्तरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छिन् । एक हजार ६ सय ३७ मतसहित निमल्सिना निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४ मत पाइन् भने एमाले उम्मेदवार जाना शाहीले एक हजार एक सय ३२ मत प्राप्त गरेकी छन् । राप्रपाले ५१, रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले नौ मत पाएका छन् । २०७९ मा माओवादीका चन्द्र सिंह कार्कीले तीन हजार २६९ मत ल्याएर जितेका थिए ।
प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार १३:३२
साझा बिसौनी ।