सत्ता सङ्घर्ष
‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको’ अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए ।
नेपालको राजनीतिक इतिहास सधैँभरी उतार–चढाव र संघर्षले भरिएको छ । यो इतिहास कुनै एक घटनामा मात्र सीमित छैन, यसमा अनेकौं शक्ति संघर्ष, विचारधारात्मक द्वन्द्व र सत्ता कब्जा गर्ने प्रयासको श्रृंखला समेटिएको छ । यसै सन्दर्भमा ‘सत्ता सङ्घर्ष’ पुस्तक नेपालको राजनीतिक परिदृश्यलाई स्पष्ट रूपमा बुझ्न मद्दत पु¥याउने एक महत्त्वपूर्ण दस्तावेज हो । यस पुस्तकमा नेपाली राजनीति, विशेष गरी शक्ति संघर्षको समग्र रूप र त्यसले देशको राजनीतिक विकासमा पार्ने प्रभावको चित्रण गरिएको छ ।
‘सत्ता सङ्घर्ष’ पुस्तकले नेपाली राजनीतिमा भएका परिवर्तनहरू, माओवादी द्वन्द्व, राजतन्त्रको पतन र संविधानसभासम्मको घटनाहरूलाई समेटेर लेखिएको छ । यसले सत्ता कसरी एक हातबाट अर्को हातमा सरेको छ र सत्ता संरचनामा कसरी परिवर्तनहरू भएका छन् भन्ने विषयमा विश्लेषण गरिएको छ ।
नेपालको इतिहासमा राजतन्त्र, राजनीतिक दलहरू र विद्रोही शक्तिहरूबीच भएको सत्ताको सङ्घर्षलाई पुस्तकले प्रष्ट रूपमा देखाएको छ । २०४६ सालको जनआन्दोलन, माओवादी विद्रोह र २०६२/०६३ को जनआन्दोलन यी सबै सत्ता परिवर्तनका महत्त्वपूर्ण माइलस्टोनहरू हुन्, जसले नेपाली समाजमा गहिरो छाप छोडेका छन् ।
३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।
वि.सं. २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता सङ्घर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियोे कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा वर्णन गरिएको छ ।
मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्काे घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गरेका छन् ।
कुनै पनि मुलुकको राजनितिक स्थायित्व र विकासका लागि बलियो सरकारको अपेक्षा हुन्छ । तर नेपालमा कमजोर राजनितिक संस्कारले सत्ता बदलिइरहे । सरकार कसरी बदल्ने, नेताहरूको चासो त्यसैमा केन्द्रित भयो । २००७ साल यता २०७९ सालसम्म कुनै पनि सरकार पूरा अवधि नटिक्नुको कारण यही देखिन्छ ।
जहानियाँ राणा शासनको अन्त्यको पहिलो कालखण्ड २००७ देखि २०१७ सालसम्मको १० वर्षमा १० वटै सरकार बने । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर सत्ता हातमा लिए । त्यसपछि २०४६ सालसम्मको पञ्चायती व्यवस्थामा २२ वटा सरकार बने । ती सरकारको औसत आयु १५ महिना मात्रै रह्यो । तत्कालीन राजा वीरेन्द्रको रूचिमा २०४६ साल चैत २४ गते लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइयो । त्यो सरकार पनि ११ दिनभन्दा बढी टिकेन ।
जनआन्दोलनको बलमा प्रजातन्त्र पुनर्वहालीपछि नेपाली कांग्रेसका तत्कालीन कार्यवहाक सभापति कृष्णाप्रसाद भट्टराई नेतृत्वमा २०४७ वैशाख ६ गते अन्तरिम सरकार बने । व्यवस्था प्रजातन्त्र हुदैँ लोकतन्त्र र संघीयतासहितको गणतन्त्रसम्ममा रूपान्तरण भयो । तर, २०७४ सालको निर्वाचनसम्म आइपुग्दाको यो तीन दशकमा कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । २०४८ जेठ १५ गते गठन भइ ४१ महिना २८ दिन चलेको नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गिरजाप्रसाद कोइराला नेतृत्वको सरकार सबैभन्दा लामो रह्यो ।
यो कालखण्डमा त्रिशङ्कु संसद्मा संसदीय व्यवस्था नै बदनाम हुने गरी सरकार गठन÷विघटनका खेल खेलिए । नेपाली कांग्रेस र नेकपा एमालेले प्रजातन्त्र प्राप्तिका लागि जोसँग लडेका थिए, तिनै पूर्वपञ्चहरूलाई पालैपालो काँधमा बोकेर कुर्सीमा बसाले । सांसदहरू मूल्य तोकेर सत्ताकै लागि किनिए, बेचिए ।
नेकपा माओवादी विद्रोहको कालखण्डलाई राजनीतिमा एक निर्णायक मोडको रूपमा पुस्तकले चित्रण गरेको छ । यस विद्रोहले मात्र सत्ताको स्वरूप परिवर्तन गरेन, समाजका हरेक तहलाई प्रभावित पनि गर्यो ।
२०५२ सालदेखि नेकपा माओवादीको सशस्त्र सङ्घर्र्ष चर्कियो । तत्कालिन राजा ज्ञानेन्द्रले नागरिक सरकारलाई अपदस्त गरी शासन आफ्नै हातमा लिए । तर २०६२/०६३ सालको दोस्रो जनआन्दोलनले राजाको शासन १५ महिनामै ढालिदिए । सात दल र माओवादी सहकार्यमा झन्डै दुई सय ४० वर्ष पुरानो राजतन्त्र नै समाप्त गरेर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो ।
नेपालको मुख्य राजनीतिक दलहरूबीचको विचारधारात्मक भिन्नता, सत्ता प्राप्तिका लागि गरिएका गठबन्धनहरू र आन्तरिक विवादहरूले नेपालको राजनीतिक इतिहासलाई कसरी प्रभावित ग¥यो भन्ने विषयमा पुस्तकले गहिरो विश्लेषण गरेको छ ।
नेपालको संविधान निर्माण प्रक्रियामा भएका झगडाहरू र विभिन्न दलबीचको सम्झौतामा आधारित सत्ता संरचनाको पुनः निर्माणका विषयलाई प्रस्तुत गरेको छ । संविधानसभामा भएका संघर्ष, देशको संघीय संरचनाको निर्माण र विभिन्न समूहहरूको प्रतिनिधित्वका लागि गरिएका प्रयासहरू यस पुस्तकमा गहिरो रूपमा विश्लेषण गरिएको छ ।
नेपालको राजतन्त्र कसरी पतनको चरणमा पुग्यो र कसरी लोकतान्त्रिक गणतन्त्र स्थापना भयो भन्ने विषयलाई पुस्तकले निकै सजीव र ऐतिहासिक ढंगले प्रस्तुत गरेको छ । राजसंस्थाको पतन र लोकतन्त्रको आगमनलाई देशको राजनीतिमा भएको सबैभन्दा ठूलो परिवर्तनका रूपमा पुस्तकले व्याख्या गरेको छ ।
नेपालको राजनीतिक उतार–चढावको ऐतिहासिक दस्तावेज हो । यो पुस्तकले राजनीतिक दलहरूको शक्ति संघर्ष, विचारधारात्मक द्वन्द्व र सत्ता संरचनामा आएको परिवर्तनलाई गहिराइमा पुगेर विश्लेषण गरेको छ । नेपालको इतिहासलाई बुझ्न चाहने वा शक्ति संघर्षका अन्तर्निहित कारणहरू जान्न चाहने पाठकहरूका लागि यो पुस्तक एक महत्त्वपूर्ण स्रोत हो ।
परिवर्तनकारी शक्तिबीच न्यूनतम् समझदारी नभएसम्म राजनीतिलाई नै पनि स्थायित्व दिन कठिनाई पर्ने विगतको अनुभवबाट पाठ सिक्न आवश्यक छ । राजनीतिमा कुर्सीलाई प्राथमिकतामा राख्दा आर्थिक, पूर्वाधार निर्माण र समृद्धिका मुद्दा पछाडि परेका हुन्, अब त्यसलाई सच्याउन आवश्यक छ ।
-सन्तोष भण्डारी
प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार ०६:०४
सन्तोष भण्डारी ।