सिमेन्ट उद्योगका लागि पूर्वाधार निर्माण हुँदै
सुर्खेत: पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारको लगानीमा सडक विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्नेगरी प्रक्रिया थालेको छ ।
प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । २०८१ असोज ९ गते सडक निर्माणका लागि ठेक्का आह्वान गरेको हो । अहिले ३१ वटा निर्माण कम्पनीले आवेदन दर्ता गराएका छन् । परेका आवेदनहरूको अध्ययन गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार परेका फाइलहरूको अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी छनौट गरेर सडक निर्माणको काम अघि बढाइने शाहीले जानकारी दिएका छन् । सडक निर्माणका लागि गत वर्ष नै बजेट विनियोजन गरिएको भएपनि यो वर्ष मात्र सडक निर्माणको प्रक्रिया थालिएको हो ।
उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माण गर्न लागिएको छ । त्यसका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यसअघि नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम गरिनेछ । गत वर्ष नै बजेटको स्रोत सुनिश्चितता भइसकेको छ । ‘डीपीआरअनुसार सडक निर्माणका लागि एक अर्ब २० करोड लागत अनुमान छ । १० करोड बजेटको स्रोत सुनिश्चितता भएको छ । ठेक्का आह्वान गरेर परेका पाइलको अध्ययन गरिरहेका छौँ, अबको केही समयमा ठेक्का सम्झौता गरेर सडक निर्माणको काम अघि बढाउँछौँ’ सूचना अधिकारी शाहीले भने ।
गत वर्ष नै वातावरणीय प्रभाव मूल्यांकन (इआईए) स्वीकृत भएको छ । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ । अहिले रुख कटानको समेत अनुमति आइसकेको सूचना अधिकारी शाहीले जानकारी दिए । उनका अनुसार रुख कटानका लागि भेरी वन डिभिजनले टाँचा लगाउने छ । उनले भने, ‘रुख कटानको अनुमति आएको छ, अब रुखमा टाँचा लगाउने काम हुन्छ ।’
आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा काम अघि बढाउन समस्या भएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताए । पूर्वाधार अभावकाबीच उद्योगको काम ठप्प भएको उनको भनाइ छ । ‘पछिल्लो समय संघ र प्रदेश सरकारले यस विषयमा चासो दिएको छ । तर काम सुरु गरिएको छैन । काम गर्ने वातावरण बन्यो भने मात्र काम अघि बढाउने योजना छ’ अध्यक्ष तिमिल्सेनाले भने । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको उनले जानकारी दिए ।
सरकारले सामान्य पूर्वाधार निर्माणका काम समयमा नै नगर्दा काममा ढिलाई भइरहेको उनको भनाइ छ । काम गर्न खोज्दाखाज्दै पनि काम गर्ने वातावरण बन्न नसकेको उनको गुनासो छ । सुरुवातदेखि सरकारबाट आफूले असयोग पाएको उनले बताए । उनले भने, ‘सरकारले सामान्य पूर्वाधार पनि निर्माण गरिदिएको छैन, अहिले सडक निर्माण गर्छौं भनेको एक वर्ष बित्यो अझै काम सुरु भएको छैन, सामान्य कुरामा अलमलिनु परिरहेको छ ।’
१४ अर्ब लागत अनुमान
दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । १४ अर्बभन्दा बढी को लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ ।
अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा नं. ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । उद्योग सञ्चालनका काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिएको कम्पनीका तिमिल्सेनाले बताए । उनले लगानी धेरै लाग्ने भएपछि लगानीको खोजीका लागि विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ ।
प्रकाशित मितिः ११ मंसिर २०८१, मंगलवार ०६:०६
साझा बिसौनी ।