बुबाको चाहना पूरा गर्न वकिल

गीता कोइराला अधिवक्ता हुन् । उनी जिल्ला अदालत बार एशोसियसन सुर्खेतका कोषाध्यक्ष हुन । वीरेन्द्रनगरमा उनको गीताञ्जली लफर्म पनि छ । बुबा घनश्याम कोइराला र आमा लिलादेवी कोइरालाको कोखबाट उनी २०२९ साल चैत २९ गते जन्मिएकी उनी २०६२ सालदेखि अधिवक्ताको रूपमा सुर्खेतमा स्थापित छिन् । यस्तै उनले कानुनमा स्नातकोत्तर गरेकी छन् । सफल अधिवक्ताको रूपमा स्थापित गीता कोइरालाले आफ्नो बाल्यकाललाई हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छन्ः

मेरो बाल्यकाल वीरेन्द्रनगरको भैरवस्थानमा बित्यो । हामी नौ भाइ बहिनी छौं । मेरो आमा जना दुई भएकोले हामी धेरै भाइबहिनी भएका हौं । म मेरो आमातर्फको जेठो छोरी हुँ । हामी सबै गरेर ६ दिदीबहिनी र तीन दाजुभाइ छौं । बाल्यकालमा सबै भन्दा बढी पुतली खेलेको याद आउँछ । पुतली खेल्दा एउटा दुःखद् घटना पनि भयो । त्यो घटनाले अझै पनि सताउँछ । हाम्रो उमेर त्यस्तै सात वर्षको जति थियो होला । मेरो फुपुको छोरीको पुतली खेल्ले क्रममा आगोमा जलेर मुत्यु भयो ।
फुपुको छोरी सुत्केरीको भूमिकामा खेल्नु भएको थियो । धानको भुस नजिकै गएर हामीले खेल्न थालेका थियौं । त्यहाँ नजिक पराल पनि थियो । मेरो र एक जना अर्को दिदीको भूमिका सुत्केरीलाई खाना बनाएर खुवाउने थियो । म पानी लिन गएँ । दिदी सुत्केरीको अभिनय गर्दै हुनुहुन्थ्यो । आगो पनि बालेका थियौं । एक जना दिदीले त्यही आगोमा पराल ल्याएर हाल्नु भएछ । उहाँको शरीरमा आगो सल्किएछ । म आउँदा उहाँको शरीर आगोले खाइ सकेको थियो । पछि अस्पताल लगे पनि उहाँलाई बचाउन सकिएन् ।
पढाइमा बुबाको प्रेरणा
हाम्रो परिवार शिक्षित नै थियो । बुबा शिक्षक हुनुहुन्थ्यो । उहाँ शिक्षण पेसासँगै राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । हामीलाई जहिले पनि बुबाले पढ्नुपर्छ भनेर निर्देशित गर्नुहुन्थ्यो । हामीले पढ्न पाउनुमा उहाँको योगदान छ । बुबा राजनीतिमा लागेको कारण राजसंस्थाको विरोधि भनेर पटक–पटक जेल परिरहनुहुन्थ्यो । हामीलाई समाजले पनि नेताका छोराछोरी भनेर फरक ढंगले हेर्ने गर्दथ्यो । साथीभाइहरूले पनि राजसंस्थाका विरोधिका छोराछोरी हुन भनेर अपमान गर्थे । घरमा नेताहरू आइरहन्थे । मैले सानैदेखि नै राजनीतिमा चासो लिने गर्दथे । बुबा जेल पर्दा छुटाउनको लागि वकिल राख्नुपर्ने । वकिल खोज्न काठमाडौं जानुपर्ने बाध्यता हुन्थ्यो । त्यसकारण बुबाले नौ छोराछोरी मध्ये एक जनालाई वकिल गराउने भन्नुहुन्थ्यो । फेरि वकिल त गीता नै बन्नुपर्छ भन्नुहुन्थ्यो । यसको स्वभाव मिल्छ भन्नुहुन्थ्यो । वकालत गरेर पनि उल्लंघन भएका अधिकारहरूलाई स्थापित गर्न सकिन्छ भन्ने धारणा बुबामा थियो । बुबाको कारणले मैले कानुन पढेको हुँ ।
मिठाइ चोर्दा सिस्नोपानी
मैले प्राथमिक शिक्षा वीरेन्द्रनगरको नेरा मावि डाँडास्कुलबाट पढेको हुँ । पढाइमा राम्रो नै थिएँ । एसएलसी पास मैले जन माविबाट गरेको हुँ । २०४७ सालमा मैले एसएलसी गरेको हुँ । विद्यालय पढ्दा खेरीका रमाइला सम्झनाहरू पनि अझै आउँछन् । एकपटक डाँडास्कुल पढ्ने बेलामा हो । एक जना दिदी र म स्कुलबाट सँगै फर्किदै थियौं । स्कुल नजिक गोट्टा मिठाइ बेच्न राख्थे । दिदीले गोट्टा मिठाइ गएर साउजीलाई नसोधेर ल्याइहाल्नुभयो । मैले दिदी नल्याउनु भन्दा मान्नु भएन् । उनीहरूले तिमीहरूको हौं भनेर सोधे । दिदीले हामी डाँडा स्कुलमा पढाउने शिक्षकका छोरीहरू हौं भनेर शानसँग भन्नुभयो । उनीहरूले हामीलाई गाली नगरेर जाउ भने । पछि बुबालाई भनेछन् । घरमा बुबाले गएर साँझ सिस्नो पानीले पिट्नुभयो । बुबाले केही गल्ती गरेपछि जहिले पनि सिस्नो पानीले पिट्ने गर्नुहुन्थ्यो । एकदिन केही साथी मिलेर छिमेकीको अमिलो चोर्न गयौं । उनीहरूले थाहा पाइछन् । त्यसबेला पनि बुबाले सिस्नोपानीले धेरै पिट्नुभयो ।
घरको काममा सघाउँथें
गोठालो, खेतमा धान रोप्न जाने, तरकारी लगाउने र बनमा घाँस दाउरा काट्न हामी धेरै नै जान्थ्यौं ।
म घरमा खाना पकाउने, घरभित्रको कामभन्दा पनि बाहिरका बढी काम गर्न रुचाउँथे । बुबालाई सहयोग बढी गर्थे । चिठ्ठी पु¥याउने काम गर्थे । म प्रगतिशील गीतहरू गाउँने, जनचेतनामूलक नाटक खेल्नमा अघि सरिहाल्थे । घरमा पनि बुबालाई प्रहरीहरू खोज्न आइरहन्थे । प्रगतिशील किताबहरू बुबाले राख्ने । हामीले लुकाउने गर्थियौं । कहिले काहीं त बुबालाई नै लुकाउन गाह्रो हुन्थ्यो । उनीहरूलाई बुबा घरमा हुनुहुन्न भनेर भन्थ्यौं । बुबा जेलमा पर्दा खाना बनाएर पु¥याउन जान्थ्यौं । मेरो साथीको बुबा प्रहरी हुनुहुन्थ्यो । उहाँ मेरो बुबालाई खोज्दै हाम्रो घरमा आउनुभयो । मैले उहाँलाई मेरो साथीको बुबा भएर पनि मेरो बुबालाई खोज्न आउने भनेर भने । त्यसबेला उहाँले के गर्नु आउनैपर्छ मात्र भन्नुभयो । त्यस बेला उहाँले मेरो बुबालाई भेटाउनु भएन् ।
भाइलाई टेबुलबाट फालिदिए
२०३६ सालतिर हो । अञ्चलाधीशको कार्यालयमा बुबालाई प्रहरीले लिएको थियो । हामी सबै परिवारसहित गएर कार्यालय घेरेका थियौं । भाइ भर्खरै जन्मिएको थियो । हामीले बुबालाई छोड्नुस् कि भाइलाई यही राख्छौं भनेर टेबुलमा राखेका थियौं । त्यसबेलामा अञ्चलाधीशले भाइलाई टेबुलबाट फालिदिएको तितो घटना पनि अभैm सम्झना छ ।
समग्रमा बाल्यकाल राम्रोसँग नै बित्यो । बुबा जेलमा पर्दा आमालाई घर चलाउन समस्या हुन्थ्यौं । त्यस बेलामा उत्पादन भएको बिक्री गर्न पनि बजार थिएन् । बुबाले राजनीति गर्ने भएका कारणले समाजले यिनीहरू त राजाको विरुद्धमा लाग्ने नेताका छोराछोरी हुन भनेर धेरै अवसरहरूबाट वञ्चित पनि गर्थे । विद्यालयमा शिक्षकहरूले पनि त्यही नजरले हेर्ने गर्थे ।

प्रकाशित मितिः   १८ बैशाख २०७४, सोमबार १४:३६