कर्णालीमा उपचुनाव: प्रतिस्पर्धामा मुख्य तीन दल
सुर्खेत: कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी दल हुन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि यिनै तीन दलबीच नै त्रिपक्षी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
त्यसबाहेक कर्णालीमा नेकपा (एकीकृत समाजवादी) पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलगायतको उपस्थिति छ । यद्यपि, अघिल्लो स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने मुख्य तीन दलबाहेक अन्य दलको उपस्थिति निकै कमजोर छ ।
कर्णालीका आठ पदका लागि उपनिर्वाचन हुँदैछ । नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुन लागेको हो । जसमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महावु गाउँपालिकामा अध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
त्यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
दलहरूले उम्मेदवार छनोटसँगै चुनावी प्रचार–प्रसारमा जुटिसकेका छन् । मतदाता रिझाउन गाउँ–गाउँमा पुगिसकेका छन् । कांग्रेसले आठवटै स्थानमा आफ्ना उम्मेदवार टुङ्गाएको प्रदेश सभापति ललितजंग शाहीले बताए ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा झलक भण्डारी, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा इन्द्रा चन्द सिंह र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सविता बुढालाई कांग्रेसले उम्मेदवार बनाएको छ । त्यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षमा शेरबहादुर शाहीको नाम टुँगो लागेको छ भने जाजरकोटको कुशे गाउँपालिका–७ मा खम्बबहादुर सिंहलाई उम्मेदवार बनाइएको छ ।
नेकपा एमालेले पनि सबै ठाउँमा आफ्ना उम्मेदवारहरूको नाम टुँग्याएको प्रदेश अध्यक्ष गुलावजंग शाहले बताए । एमालेले दैलेखको महावु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाहीलाई टिकट दिएको छ ।
यस्तै जाजरकोटको कुशे गाउँपालिका वडा नं. ७ को अध्यक्षमा डम्बरबहादुर घर्ती, दुल्लू नगरपालिका–१३ को अध्यक्षमा लालबहादुर शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा जुना रोकाय, कालीकोटको तिलागुफा नगरपालिका–४ मा ऐनबहादुर शाही र रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्षमा अमृत खत्रीको नाम टुँगो लागेको नेकपा एमालेले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले शनिवार साँझसम्म पनि केही स्थानमा उम्मेदवार टुँगो लगाए पनि केही स्थानमा बाँकी छ । नेकपा एकीकृत समाजवादीसँग चुनावी सहकार्य हुने भएकाले केही स्थानमा छलफल भइरहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । एक्लै जित्ने निश्चित नभएका स्थानमा सहकार्य गर्ने सहमति भएको उनले बताइन् ।
माओवादीले दैलेखको महावु गाउँपालिका अध्यक्षको उम्मेदवारमा जंगबहादुर बराललाई अघि सारेको छ । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा कोपिला बुढा उम्मेदवार बनेका छन् ।
त्यसैगरी जाजरकोटको कुशे गाउँपालिका–७ को वडा अध्यक्षमा गोरख नेपाली, दुल्लू नगरपालिका–१३ मा ढकेन्द्रबहादुर शाही, रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्षमा जसीराम बस्नेत उम्मेदवार बनेका छन् ।
एकीकृत समाजवादीले पनि आन्तरिक रूपमा उम्मेदवारको टुँगो लगाएपनि माओवादीसँग सहकार्यका लागि छलफल गरिरहेको छ । दैलेखको महावुमा समाजवादीले उम्मेदवार दाबी गरेको छ । माओवादीसँग सहकार्य भएमा महावुमा आफूले अध्यक्ष लिने र अन्य ठाउँमा माओवादीलाई सहयोग गर्ने तयारीमा समाजवादी रहेको छ । अहिले दुवै पाटीले आ–आफ्ना उम्मेदवार अघि सारेका छन् । आठ वटै स्थापनमा आफ्ना उम्मेदवार रहने समाजवादीका प्रदेश अध्यक्ष ठेगेन्द्रप्रसाद पुरीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक स्थानीय तहमा चुनावमा भाग लिँदैछ । शनिवारसम्म उसले ६ ठाउँमा आफ्ना उम्मेदवार टुँग्याएको छ । प्रदेशका आठ वटै ठाउँमा उपनिर्वाचनमा भाग लिनेगरी तयारी भइरहेकोे रास्वपा प्रदेश सभापति मदन खड्काले जानकारी दिए । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बुढा, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखको उम्मेदवारमा पार्वती पुन र हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष पदमा सुजता फडेरा (थापा) लाई उम्मेदावर बनाइएको छ ।
४२ हजार बढी मतादाता
उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरणअनुसार कर्णाली प्रदेशका ६ जिल्लाका आठ पदका लागि ४२ हजार दुई सय ७७ जना मतदाता मतदानमा भाग लिने भएका छन् ।
दैलेखको महावु गाउँपालिकामा नौ वटा मतदान स्थल र १६ वटा निर्वाचन केन्द्रहरूबाट १२ हजार ६ सय १४ जना, दुई वटा मतदान स्थल रहेको दैलेखकै दुल्लू नगरपालिका–१३ को वडा अध्यक्ष पदका लागि दुई हजार सात सय ६ जना, १६ वटा मतदानस्थल भएको जाजरकोटको नलगाड नगरपालिका उपमेयर पदका लागि १६ हजार चार सय ४९ जना र जाजरकोटकै कुशे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा एक हजार तीन सय दुई जनाले मतदानमा भाग लिने छन् ।
यस्तै, १२ वटा मतदानस्थल रहेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको लागि पनि उपनिर्वाचनमा ६ हजार आठ सय १० जना मतदाता, रूकुमपश्चिमको सानिभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा एक हजार चार सय ३४ जना, कालीकोटको तलिागुफा नगरपालिका–४ को वडा अध्यक्ष पदको लागि ६ सय नौ मतदाता, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को अध्यक्षको लागि हुने उपनिर्वाचनमा तीन सय ५३ जना मतदाताले मतदानमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि आज (आइतवार) मनोनयन दर्ता हुँदैछ । त्यसका लगि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
प्रकाशित मितिः २ मंसिर २०८१, आईतवार ०६:०६
साझा बिसौनी ।