अझै बनेन राजधानीकै सडक

 

सुर्खेत: प्रदेश राजधानी वीरेन्द्रनगरकै सडक वर्षौंदेखि अलपत्र परेको छ । वीरेन्द्रनगरको मुख्य सडकको विस्तार थालिएको लामो समय भइसक्दा पनि निर्माणले पूर्णता पाउन सकेको छैन । मंगलगढी–शिवमन्दिर सडकखण्ड वर्षाैंदेखि अलपत्र परेको हो ।

मंगलगढी चोकदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यो सडक विस्तार गर्न लागेको चार वर्षभन्दा बढी भयो । आर्थिक वर्ष २०७६/०७७ देखि सुरु भएको स्तरोन्नतिको काम अझै अधुरै छ । उक्त सडक खण्डमा सुरुमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माणको काम थालेको थियो । नाला निर्माणमै झन्डै दुई वर्ष समय लाग्यो । आर्थिक वर्ष २०७७/०७८ देखि सोही सडकको निर्माण कार्य कर्णाली प्रदेश सरकारले अघि बढाएको छ । प्रदेश सरकारको १२ करोड ७७ लाख लगानीमा सडक निर्माण थालिएको हो । हालसम्म कामको प्रगति भने निकै सुस्त छ । यसअघि एउटा निर्माण कम्पनीले काम बेवारिसे छोडेपछि ठेक्का तोडेर अर्कोलाई दिइएको हो । २०७८ देखि सडक स्तरोन्नतिको जिम्मा सिस्ने कन्ट्रक्सन निर्माण सेवाले लिएको छ । निर्माण व्यवसायीको लापरबाहीकै कारण अहिले सडक विस्तारको काम रोकिएको छ ।

एकातर्फ सडक निर्माण कार्य अधुरै छ भने अर्कोतर्फ सडक निर्माणको सम्झौता अवधि सकिएको छ । सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ । सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ साल मंसिर १४ मा अमरसिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । २०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पहिलो पटक २०८० साल फागुन १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता थप गरिएको थियो । १२ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । उक्त थपिएको मितिमा समेत काम हुन सकेन । सार्वजनिक खरिद ऐनको १३औँ संशोधन भएसँगै पुनः म्याद थप गरिएको थियो । अन्तिम पटक २०८१ असार १२ गतेसम्म म्याद थपिएको थियो । अहिले उक्त म्यादको अवधि पनि सकिएको छ ।

कामको सम्झौता अवधि सकिएतापनि सडक निर्माणको काम भने अधुरै छ । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ५३ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५० प्रतिशत भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६ करोड रकम भुक्तानी भइसकेको छ । ठेकेदार कम्पनीको लापरबाहीकै कारण तोकिएकै समयमा काम सम्पन्न हुन नसकेको निर्देशनालयले जनाएको छ । अहिले निर्माणको काम ठप्प रहेको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार निर्देशनालयले समयमै काम नसकिनुको कारण पेस सहितको पत्र निर्माण कम्पनीलाई पठाउन लागिएको छ । नियमअनुसार अब म्याद थप गर्न मिल्दैन । हालसम्म निर्माण कम्पनीले करिब आठ करोड बराबरको काम गरेको छ । अहिलेसम्म ६ करोड मात्र भुक्तानी लिएको छ । अब निर्माण कम्पनीले बाँकी काम पूरा गर्न जरिवाना तिर्नुपर्ने हुन्छ । जरिवाना तिरेर मात्र बाँकी काम अघि बढाउन पाइन्छ ।

केही अघि प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सडक निर्माणमा भएको ढिलाइबारे छलफल गरेका थिए । उक्त मंगलगढी–शिवमन्दिर सडकखण्ड निर्माणको काम अघि बढाउन पूर्वाधार विकास निर्देशनालयलाई उनले सुझाएका थिए । हालसम्मको कामको प्रगतिबारे समेत जानकारी लिएको र अब बाँकी कामलाई कसरी पूर्ण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘जसरी पनि बाँकी काम अघि बढाउनुपर्छ, सडक अलपत्र पार्ने छुट कसैलाई छैन ।’

प्रकाशित मितिः   २७ कार्तिक २०८१, मंगलवार १२:२८