कांग्रेस अधिवेशनको तयारी तीव्र, नेतृत्व लिन युवाहरू अग्रसर

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ माघ । 
पार्टीको जिल्ला अधिवेशन पाँच वर्षमा एकपल्ट हुन्छ, स्थानीय निकायको निर्वाचन नभएको दशक बित्यो । तीन वटा निर्वाचन क्षेत्र भएको सुर्खेतमा संसदीय निर्वाचनमा प्रायः उनै पुराना व्यक्तिहरू नै उम्मेदवारको रूपमा दोहोरिदैं आएका छन् । जसका कारण राजनीतिमा नै आफ्नो भविष्य खोजिरहेका जिल्लाका नेपाली कांग्रेस सम्वद्ध युवापंक्ति नेतृत्वबाट वञ्चित हुँदै आएको छ । तर १३ औं अधिवेशनसम्म आइपुग्दा जिल्लामा पार्टीको नेतृत्व लिन युवाहरू अग्रसर देखिएका छन् । 
जिल्ला अधिवेशन नजिकिदैं गर्दा कांग्रेसको जिल्ला राजनीतिको पृष्ठभूमिमा देखिएको दृष्य नियाल्ने हो भने अबको जिल्ला नेतृत्व युवाहरूकै काँधमा आउने देखिन्छ । यसका लागि युवाहरूले आफूलाई तयार मात्र गरेका छैनन् दरिलो उम्मेदवारका रूपमा समेत उभ्याएका छन् । पुराना अनुहारलाई चुनौती दिन युवापुस्ता तयार भइसकेको छ । पार्टीको जिल्लादेखि क्षेत्रीय र गाउँ समितिको नेतृत्वका लागि अग्रसर भएका व्यक्तिहरूमा अधिकांश युवा छन् । यसले गर्दा पनि कांग्रेस सुर्खेतको गाउँदेखि जिल्ला तहसम्मको नेतृत्वमा युवाहरूको बाहुल्यता हुने आंकलन गरिएको छ ।
जिल्ला सभापतिका लागि चर्चामा रहेका नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति कमलराज रेग्मी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री टोपबहादुर रावत दुवै जना युवा नेता हुन् । त्यसैगरी जिल्ला कार्यसमितिका कोषाध्यक्ष गोविन्द कोइराला पनि नेतृत्वका लागि अग्रसर रहेको उनी निकटका व्यक्तिहरू बताउँछन् । यद्यपि अन्य उम्मेदवारहरूले जस्तो उनले आफ्नो बारेमा मुख खोलिसकेका छैनन् । साझा बिसौनीसँग कुरा गर्दै उनले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने र सर्वसम्मत नेतृत्व छनौट गर्नुपर्ने पक्षमा रहेको बताए । 
त्यसैगरी वीरेन्द्रनगर नगर सभापतिका लागि पनि युवाहरू नै अघि देखिएका छन् । संस्थापन पक्षबाट उम्मेदवार बन्न लागेका वर्तमान नगर सभापति देवकुमार सुवेदी र देउवा पक्षबाट उम्मेदवार बन्ने चर्चा गरिएका ललित भट्टराई दुवै युवा हुन् । त्यस्तै क्षेत्रीय सभापति लगायतका पदाधिकारीमा पनि यस पटक युवाहरू नै बढी आकांक्षी देखिएका छन् । पार्टीभित्रको दुवै खेमाबाट युवाहरू पनि सम्भावित उम्मेदवारको रूपमा अघि सारिएकाले १३ औं जिल्ला अधिवेशनले कांग्रेस सुर्खेतको प्रायः सबै तहको नेतृत्व युवाहरूलाई सुम्पिने आंकलन गर्न सकिन्छ । केन्द्रमा जस्तै जिल्लामा पनि कतिपय युवा नेताहरूले नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएका छन् । हरेक आन्दोलनदेखि पार्टीका हरेक गतिविधिमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका युवाहरूले नै नेतृत्व पाउनुपर्ने उनीहरूको धारणा छ । 
गाउँ अधिवेशनको तयारी पूरा
यसैबीच आज (शुक्रवार) हुने गाउँ तथा वडा अधिवेशनको तयारी पूरा भएको छ । निर्वाचन समितिले बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी सबै तयारी पूरा भएको जानकारी दिएको हो । जिल्ला निर्वाचन अधिकृत प्रह्लादबहादुर कार्कीले तीन वटै निर्वाचन क्षेत्रमा मतदान अधिकृतहरू तोकिसकिएको जानकारी दिए ।
उनका अनुसार जिल्लाका तीन वटा नगरपालिका र ४० वटा गाविसको अधिवेशन सम्पन्न गर्नका लागि मतदान अधिकृत, सहायक अधिकृतसहित करिब तीन सय जना परिचालन गरिएको छ । गाउँ र वडाको अधिवेशन आज नै हुनेछ भने नगरको निर्वाचन १६ गते हुनेछ । वीरेन्द्रनगर नगर समितिको निर्वाचन कार्यकालिका समेत सार्वजनिक गरिएको छ । १५ गते बिहान ७ बजे मतदाता नामावली प्रकाशन, ७ः४० मा अन्तिम नामावली प्रकाशन, ९ बजे उम्मेदवारको मनोनयन दर्ता, सवा ९ देखि साढे ९ सम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, पौने ३ बजेसम्म उम्मेदवारी फिर्ता, साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १६ गते बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म नगरका सबै वडाहरूमा रहेका मतदान केन्द्रमा मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।