मृतकका आफन्त आन्दोलित
सुर्खेत: प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन गरिएको छ । शुक्रवार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र उक्त गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन गरेका हुन् ।
उनीहरूले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
शुक्रवार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । सो ठाउँ दैलेख–सुर्खेत सिमाना नजिक पर्दछ । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो । दुर्घटनामा ३० जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २५ कार्तिक २०८१, आईतवार ०६:०१
साझा बिसौनी ।